नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समर्थकद्वारा आज काठमाडौंमा धोती जुलुस निकालिएको छ । ओली निकट युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको वृहत कार्यकर्ता भेलाका लागि प्रदेश २ को युवा संघ नेपालले त्यहाँका विभिन्न जिल्लाबाट मान्छे ल्याएर जुलुस गराएको हो । युवाको भेलाका लागि ल्याइएका उनीहरुमध्ये उल्लेख्य संख्यामा वृद्धवृद्धा छन् र त्यसमा पनि कतिपय वृद्धवृद्धा खाली खुट्टामा देखिएका छन् । जुलुस बबरमहलदेखि माइतीघर हुँदै कार्यक्रमस्थल प्रज्ञा भवन पुगेको थियो ।
‘लुगा पाइन्छ, खान पाइन्छ, काठमाडौं घुम्न पाइन्छ’ भनिएपछि गाउँ गाउँबाट बस चढेर काठमाडौं आएका हुन् । गाउँघरका किसानको अहिले खासै काम हुँदैन । धान भित्र्याइसकेका छन् । गहुँ छरिसकेका छन् । फुर्सदमा भएको कारण र काठमाडौं घुमाइदिने तथा समाइलो पनि हुन्छ भनेपछि आफूहरु उहाँ आएका आन्दोलनका क्रममा भेटिएका एक वृद्धले रातोपाटीलाई बताए ।
तर, यसरी आएका कतिपयको खुट्टा चपल देखिएको थिएन । यस्तो चिसो मौसममा उनीहरु खाली खुट्टा आएर ‘धोती कुर्ता हमर शान बा, केपी ओली हमर जान बा’ भनि लगाइएको नारामा लोली मिलाइरहेका थिए । जीउमा सेता कुर्ता, सेतै धोती, सतै गम्छा लगाएका उनीहरु खाली खुट्टामा ‘केपी ओली हाम्रो सान हुन्’ भनि नारा लगाइरहेका थिए ।
मधेसबाट ल्याइएका उनीहरु प्रज्ञा भवनको कार्यक्रममा सहभागी भएका छन् र तराई मधेशबाट धोती कुर्ता लगाएर आएका भन्दै सम्मान पूर्वक पहिलो लहरमा बसाइएको छ । मलिलो अनुहारमा सेतै कुर्ता, सेतै धोती र सेतै गम्छा चम्किरहँदा कतिपयको खुट्टामा चप्पल नरहेको प्रधानमन्त्रीले देख्लान् कि नदेख्लान् ?