बुटवल । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पहलमा बुटवलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९औं विश्व भन्सार दिवसको अवसरमा शक्रुबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको हो । नाडाको संस्थागत सदस्य लुम्बिनी अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अनुरोधमा सो कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ । अटोमोबाइल्स व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष दुलालले जानकारी दिए ।
‘व्यवसायीहरुले कर, भन्सार तथा भिसिटिएस सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकाले कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने । व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त गर्न र व्यवसायीलाई आफ्नो व्यवसाय विस्तार गर्न कार्यक्रमले थप सहज हुने उनले बताए ।
बिगत केही वर्ष अघिदेखि विभिन्न प्रदेशहरुमा समेत नाडाले यस्तो कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको र बाँकी प्रदेशहरुमा पनि सम्पन्न गर्दै जाने दुलालले जानकारी दिए । कार्यक्रमका सभापति तथा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष गणेश भट्टराईले नाडाले आफ्ना कार्यक्रमलाई केन्द्रमा मात्रै सीमित नराखी प्रदेशस्तरमा पनि सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरे । ‘प्रदेशस्तरमा समेत प्रशिक्षण कार्यक्रम गर्दा अटोमोबाइल्स व्यवसायीहरुको क्षमता अभिबृद्धिमा र कर सम्बन्धी जिज्ञासा समाधानमा सहयोग पुगेको छ,’ उनले भने । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह गरे ।
भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेल, आन्तरिक राजश्व कार्यालयका प्रमुख धु्रुव पाण्डे, राजश्व अनुसन्धान कार्यालयका प्रमुख राजनकुमार बि.सी. तथा मुख्य प्रशिक्षक साहिल अग्रवालले उक्त अवसरमा प्रशिक्षण प्रदान गरेका थिए ।
सो कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका करिब ६० सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानिया लगायत लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश प्रसाद भटराई, वरिष्ठ उपाध्यक्ष सन्तोष पाण्डे, उपाध्यक्ष विजय कुमार गुप्ता, महासचिव रोशन पाण्डे, सचिव रामव्रसाद वेलवासे, कोषाध्यक्ष कृष्ण प्र. भण्डारी तथा सदस्य प्रवेश भटराई, राधा कृष्ण ढेउला, चिन्तामणि पाण्डे लगायतको उपस्थिति थियो ।