म्यानमारको सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनीहरूलाई निवासबाट नियन्त्रणमा लिइएको हो।
नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने टेलिफोन, विभिन्न क्षेत्रमा इन्टरनेट सेवा र नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको बिबिसीले जनाएको छ।
बीबीसीका संवाददाताकाअनुसार राजधानी लगायत देशका मुख्य सहरहरुमा सैनिकहरुको उपस्थिति बाक्लो रहेको छ । रोयटर्स न्यूज एजेन्सीसँग फोनबाट कुरा गर्दै एनएलडीका प्रवक्ता म्यो न्यून्टले सूकी र पार्टी अध्यक्ष विन मिन्टलगायत अन्य नेताहरुलाई बिहानै ‘लगिएको’ जानकारी दिए ।
जननिर्वाचित सरकार र सेनाबीच बढ्दो तनावका बीच सूकीलाई पक्राउ गरिएको हो । योसँगै म्यानमारमा पुनः अर्को सैन्य ‘कू’ को आशंका गरिएको छ । गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेको थियो । तर, सेनाले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।
सन् २०१५ को चुनावपछि नै म्यानमारको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थिएन। गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो।
आफू समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि सेनाले धाँधली भएको बताउँदै आएको थियो।
सोमबारबाट पहिलोपटक नयाँ संसदको सत्र शुरु हुनुपर्ने थियो तर सेनाले त्यसलाई स्थगित गर्न माग गर्दै आएको थियो ।
बर्मा पनि भनेर चिनिने म्यानमार सन् २०११ सम्म सैन्य शासन रहेको थियो । सूकीले लामो समय आफ्नै घरमा नै नजरबन्दमा बिताएकी थिइन् ।
म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो।
स्रोतः बीबीसी