हिउँ परेकाले त्रिभुवनराजपथको मकवानपुरको भीमफेदी गाउँपालिका–९ गोलमोडदेखि थाहा नगरपालिका –४ दामनसम्मको सडक अवरुद्ध भएको छ ।
मकवानपुरको सबैभन्दा उच्च स्थानमा रहेको सिमभन्ज्याङ क्षेत्रमा शनिबार बेलुका हिउँ परेकाले सडक अवरुद्ध भएको हो । यो समाचार लेख्दासम्म कुनै पनि सवारी साधनहरु हिउँका कारणले आउजाउ गर्न पाएका छैनन् ।
सडकमा हिउँ जमेकाले यस क्षेत्रका सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । हिउमा चिप्लिएर सवारीका साधन पल्टन गर्छन् । शनिबार बेलुका उक्त क्षेत्रमा हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना भएर १० जना घाइते भएका थिए ।
हिउँ पग्लेपछिमात्र सवारी साधनहरु आउजाउ गर्न सक्छन् । हेटौंडा–भीमफेदी–कुलेखानी सडक स्तरोन्नतीका लागि बन्द गरिएको छ । उक्त सडक बन्द भएकाले हेटौंडा—काठमाडौं चल्ने टाटासुमोहरु सबै त्रिभुवन राजपथ भएर चल्ने गरेका थिए । त्रिभुवन राजपथ पनि अवरुद्ध भएकाले मुग्लिङ चितवन भएर टाटासुमो चलेका छन् ।