कर्णालीमा तुईन चढ्ने बाध्यता अझै कायम,


कर्णालीका स्थानीयबासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता अझै कायम छ। सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म पुल निर्माण हुन सकेको छैन।

वर्षौंदेखि स्थानीयबासीले नदीमा झोलुंगे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका–२ रिपगाउँका नागरिकले तुइन तर्नुपरेको बाध्यता हो ।

पुल नहुँदा बर्सेनि तुइन तर्नु परिरहेको सर्केगाड-२ रिपगाउँकी स्थानीयबासी जुनदेवी फडेराले बताइन्।हिउँदयाममा नदीको बहाव कम भएका कारण तुइन तर्न कम जोखिम भए पनि बर्खायाममा भने त्रासका बीच तुइन तर्नु परिरहेको फडेराले गुनासो गरिन्।

उक्त गाउँका २०० घरधुरीका बासिन्दा दाउरा, घाँसका लागि दैनिकरूपमा तुइन तर्ने गरेका छन्। घाँस र दाउरा पनि तुइनमै तर्नुपर्ने भएका कारण धेरै भारी नदीमा खसेको फडेराले बताइन्।

यस्तै, खार्पुनाथ गाउँपालिका-४ मा रहेको कर्णाली नदीमा समेत तुइनकै भर पर्नु अवस्था छ। गाउँपालिकामा काम पर्दा तुइन तरेर जानुपर्ने बाध्यता नहटेको खार्पुनाथ-४ छिप्रागाउँका स्थानीयबासी बबरजंग हमालले बताए।

उक्त स्थानमा झोलुंगे पुल बनाउने योजना भए पनि निर्माण कम्पनीले हालसम्म नबनाएका कारण स्थानीयबासीलाई तुइनकै भर पर्नुपर्ने बाध्यता रहेको हमालले बताए। उक्त तुइन तर्दा धेरै स्थानीयबासीका हातमा चोट लागेको भन्दै केही महिना अगाडि एक जना स्थानीयबासी तुइनबाट खसेर घाइते भएको उनले बताए।

खार्पुनाथ शिवालयबाट गाउँपालिका केन्द्रमा जाँदा बाटो लामो पर्ने भएका कारण स्थानीयवासी सबै तुइन नै तर्ने गर्छन्। त्यसैगरी, खार्पुनाथ-२ बोक्चेगौडा क्षेत्रमा पनि तुइनबाटै स्थानीयबासी आवतजावत गर्ने गरेको बटुवा हिक्मत शाहीले बताए।

पुलको योजना परे पनि निर्माण नहुँदा यसै आर्थिक वर्ष गाउँपालिकाले कर्णाली नदी वारपार गर्न दुई स्थानमा सिमेन्टको पिलरसहितको तुइन निर्माण गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए।स्थानीयबासीको ज्यान जोखिममा पर्ने भएका कारण तुइन निर्माण गर्नुपरेको बताए।

सरकारले तुइन विस्थापन गर्ने भनेको भए पनि पछिल्लो समय हुम्ला जिल्लाभरि कर्णाली नदीमाथि आधा दर्जन तुइन निर्माण भएका छन्।


प्रकाशित मिति : २०७७ माघ २७, मंगलवार

धेरै पढिएको

ताजा समाचार