म्यानमारका मुख्य सहरमा सेनाका बख्तरबन्द गाडी इन्टरनेट पनि अवरूद्ध,


दुई साताअघि कूमार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले प्रदर्शनलाई निस्तेज पार्न सडकमा बख्तरबन्द गाडी निकालेको छ। स्थानीय समयानुसार राती १ बजेदेखि देशमा इन्टरनेट सेवा पनि बन्द छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार साँझ राजधानी नेपिदअसहित व्यापारिक सहर रंगुन, राखिन प्रान्तको राजधानीलगायत सहरका सडकमा बख्तरबन्द गाडी गुडेका छन्।

फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि पछिल्लो साता म्यानमारमा दिनदिनै ठूल्ठूला प्रदर्शनहरू भइरहेका छन्। कतिपय सरकारी कर्मचारीहरूले काम गर्न छोडेका छन्। नागरिक अवज्ञामा पछिल्लो समय केही प्रहरी अधिकारीहरूले पनि साथ दिएको बताइएको छ। सेनाको यो तयारीलाई सैन्य कूपछि देशमा भइरहेको विरोध प्रदर्शनलाई समाप्त गर्ने संकेतको रुपमा हेरिएको छ ।

 

यसअघि म्यानमारस्थित अमेरिकी दूतावासले सेनाले केही कदम चाल्न थालेको र इन्टरनेट बन्द हुन सक्ने बताएको थियो। उसले राति १ बजेदेखि बिहान ९ बजेसम्म टेलिफोनमा पनि समस्या आउन सक्ने चेतावनी दिएको थियो।

आइतबार राति साढे १ बजेदेखि देशभरिको इन्टरनेट सामान्य समयभन्दा १४ प्रतिशतमात्र सुचारू रहेको इन्टरनेट मनिटरिङ गर्ने नेटब्लक्सले जनाएको छ।

अमेरिका, बेलायत, क्यानडा, इयूसहितका राजदूतहरूले आइतबार एक विज्ञप्ति जारी गर्दै गत साता सेनाले गरेका गिरफ्तारी र इन्टरनेट बन्दजस्ता विषयमा चासो राखेका थिए।

’हामी सुरक्षाकर्मीलाई आफ्नो वैधानिक सरकार हटाएकोमा विरोध गरिरहेका प्रदर्शनकारी र नागरिकविरूद्ध हिंसा प्रयोग नगर्न आग्रह गर्छौं,’ उनीहरूको विज्ञप्तिमा भनिएको छ,‘म्यानमारका जनताको प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र सम्मृद्धिको खोजीमा हाम्रो सहयोग छ। संसारले हेरिरहेको छ।’

यसअघि अघिल्लो शनिबार पनि इन्टरनेट बन्द गरिएको थियो। २४ घन्टापछि फेरि सुचारू भएको थियो।

सैनिक कूविरूद्ध प्रदर्शन गर्नेमध्ये धेरै युवा पुस्ता छन्। उनीहरू प्रदर्शन आयोजना गर्न, त्यसको भिडिओ र फोटो खिच्न र सुरक्षाकर्मीको प्रतिक्रिया रेकर्डमा राख्न इन्टरनेट प्रयोग गर्छन्, कतिले त लाइभ पनि गर्छन्।

म्यानमारको सेनाले लगभग १५ दिनअघि आङ सान सूकीको नेतृत्व रहेको सरकारविरुद्ध कू गरेको थियो । अघिल्लो वर्ष नोभेम्बरमा सूकीको पार्टीले चुनावमा भारी बहुमतले जीत हासिल गरेको थियो तर सेनाले चुनावमा धाँधलीको आरोप लगाएका थिए ।

सूकीलाई हाल उनको घरमा नै नजरबन्दमा राखिएको छ । साथै सयौं प्रदर्शनकारी र विपक्षी नेतालाई पनि हिरासतमा लिइएको छ ।

 

 

 

 


प्रकाशित मिति : २०७७ फाल्गुन ३, सोमबार

धेरै पढिएको

ताजा समाचार