काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला ‘सामान्य कुरा मात्र’ भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिँदै सरकार रहिरहने बताएका हुन्।
प्रधानमन्त्री ओलीले कृषि मन्त्रालयले आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा भने, ‘हामी दृढतासाथ देश बनाइछोड्ने संकल्पमा अगाडि बढ्छौं। यो देश समृद्ध बनाइछाड्छौं। जनतालाई सुखी बनाइछाड्छौं। कृषि क्षेत्रमा उलटफेर ल्याउँछौं। हामी हाम्रो कर्तव्यमा जुट्छौं र देश बनाउँछौं। यो संकल्पमा निरन्तर अगाडि बढ्छौं। अहिले धेरै कुरा भनेर मान्छे तर्साउनु पनि ठीक छैन। सरकार छ, सरकार रहन्छ। विकासको क्रम अगाडि बढ्छ। निश्चिन्त निष्फिक्री अगाडि बढ्नुस्।’
उनले अगाडी थप्दै भने, ‘हुन त मान्छे सधैँभरि मन्त्री पदमा रहँदैन। रहिन्जेल राम्रो काम गर्ने हो। म प्रधानमन्त्रीमा रहुन्जेल राम्रो काम गर्छु। तर, हिजोको अदालतको फैसलाले प्रभाव त पा¥या होइन ? यो सामान्य कुरा हो’ ।
हाल नेकपाका दुई खेमा रहेका छन । सर्वोच्च अदालतको फैसलापछि नेकपाको अर्को खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले एकआपसमा लड्डु खुवाएर खुसीयाली मनाएकोप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले टिप्पणी गरे। ‘मेरा केही भाइहरूले लड्डु ख्वाइख्वाइ ग¥या रे ! लडड् ख्वाएछन् खुसी भएर। जित्यौं हामीले भनेर। के जिते मलाई थाहा छैन। के पाउँछन् त्योचाहिँ मैले हेर्नु छ’, ओलीले भने, ‘मेरो विचारमा भोलि–पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ। राजीनामा देऊ राजीनामा देऊ भनेर। खैर यतापट्टि चिन्ता गर्नु पर्दैन।’
उनले इमानदार भएर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। ‘कोही मान्छे हार्ट अट्याक भएर मर्छ, कोही ब्रेन ह्यामरेज भएर मर्छ, कोही प्लेन एक्सिडेन्टमा मर्छ। जिन्दगीको ठेगान छैन’, उनले भने, ‘बाँचुन्जेल राम्रो गर्ने हो। मरेपछि न मान्छे बेइमान, न इमान्दार हुन सक्छ। बाँचुन्जेल इमान्दार हुने हो गतिशील हुने हो। जिम्मेवारी निभाउने हो।’
उनले आफू नेतृत्वको सरकारले धेरै काम गरेको बताए। तीन वर्षमा सरकारले गरेको विकास र आर्थिक क्षेत्रमा गरेको प्रगतिले विश्व नै चकित परेको उनको भनाइ थियो। ‘भन्यो भने मान्छेहरू आत्तिन्छन् तर विश्व चकित छ। आर्थिक विकासको क्षेत्रमा नेपाल राइजिङ स्टार हो। यो मेरो भनाइ होइन, विश्व बैंकको हो। विश्व बैंकले हामीलाई यत्तिकै राइजिङ स्टार भनेको होइन। भर्खरै हामीले यूएसएडको भर्सन सुन्यौं। कति मुक्तकण्ठले प्रशंसा गरेको छ। साउथ एसियामा पहिलो देश भनेर खुसी व्यक्त गरेको छ’, उनले भने, ‘उद्घाटन भइरहेका छन्, शिलान्यास भइरहेका छन्। निर्माण सम्पन्न भइरहेका छन्। अनि, यस्तोमा पनि एकथरी मान्छे केही भएन भनेर कराएका छन्। मान्छेहरूको मनोवृत्ति देख्दा पनि अचम्म लाग्छ।’