प्रदेशस्तरीय शाखा खोल्न सहकारी बैङ्कले पायो स्वीकृति,


काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए।

प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो।

प्रदेश अन्तरगतका सबै शाखा कार्यालयहरुलाई उक्त प्रदेशको शाखा कार्यालय अन्तरगत राख्ने तथा प्रदेश कार्यालयले मातहतका शाखा कार्यालयहरुसंग समन्वयात्मक तथा प्रशासनिक कार्यहरु गर्नका लागि प्रदेश शाखा कार्यालयको स्वीकृति पाएको उप्रेतीले बताए।

देशमा संघीय संरचना सुरु भएपछि नै सहकारी बैंकले प्रदेश कार्यालय सञ्चालनको तयारी गरेको थियो। बैंकको साधारणसभाको प्रदेश शाखा कार्यालय स्थापना गर्ने निर्णय अनुसार नेपाल राष्ट्र बैंकमा माग गरिएको थियो।

राष्ट्रिय सहकारी बैंकमा हाल ६८ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन्। बैंकका करिव १३ हजार सहकारी संघ संस्था सदस्य रहेको बैंकले २ अर्ब ८५ करोड शेयर रकम छ। ५८ अर्ब निक्षेप संकलन गरी ३० अर्ब कर्जा लगानी गरेको छ।

प्रदेश अन्तरगतका शाखाहरुको संयोजनकारी भूमिका निर्वाह गर्ने गरी छिटै प्रदेश शाखा कार्यालयहरु सञ्चालन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी दिए। प्रदेश शाखाले सम्बन्धित प्रदेशमा बैंकले सञ्चालन गर्ने शिक्षा, तालिम लगायत प्रशासनिक कामको संयोजक गर्नेछ।

बैंकले सदस्य संस्थाहरुसँग वित्तीय कारोबारसंगै संस्थाहरुको संस्थागत विकासका लागि स्तरीकरण लगायत शिक्षा तथा तालिमका कार्यक्रम सञ्चालन गरिएको सञ्चालक रामबहादुर जिसीले जानकारी दिए।

 


प्रकाशित मिति : २०७७ फाल्गुन १३, बिहीबार

धेरै पढिएको

ताजा समाचार