बिरामी बोकेको जिप दुर्घटना, चालक बाहेक एकै परिवारका चार घाइते,एकको मृत्यु ,


साङ्केतिक तस्बीर

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार रातिजिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । रुखबाट लडेर घाइते भएका मालिका–३ का ६२ वर्षीय गोविन्द रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले रोकाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

घाइते जिप चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ । यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।

तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।


प्रकाशित मिति : २०७७ फाल्गुन १४, शुक्रबार

धेरै पढिएको

ताजा समाचार