ताप्लेजुङको फुङ्लिङ बजारमा आगलागी


ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५१ घर जलेर नष्ट भएको तथ्याङ्क छ ।

विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए । विसं २०६९ माघ २६ गते शेर्पाटोलमा आगलागीबाट आठ घर जलेर नष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्याङ्क छ । विसं २०७० कात्तिक १८ टुक्रेबजार क्षेत्रमा आगलागीबाट पाँच घर नष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए।

त्यसैगरी विसं २०७१ चैत ९ गते फुङलिङ–४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए। उक्त घटनामा १४५ परिवार विस्थापित भएका थिए। विसं २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागीबाट सात घर नष्ट हुँदा २९ परिवार विस्थापित भएका थिए ।

त्यसैगरी मङ्गलबार ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागीबाट ४९ घर नष्ट भएका छन् भने ५५ परिवार विस्थापित हुनपुगेको बताइएको छ ।

मेची र कोसी पहाडमा वर्सेनि किन दोहोरिन्छ आगलागीको चपेटारु ताप्लेजुङका रेडक्रसकर्मी गणेश अधिकारी पहाडी क्षेत्रका बजार आगलागीका लागि उच्च जोखिम क्षेत्र भएको बताउँछन्। ‘अहिलेसम्म आगलागी भएका बजार क्षेत्र हेर्दा अधिकांश घर काठका र फुसका छाना भएका छन्,’ उनले भने, ‘यस्ता घरहरू लहरै जोडिएका हुन्छन्। जसले आगो एकदमै छिटो फैलाउन मद्दत गर्छ।’

पहाडी क्षेत्रमा हुने आगलागी एकदमै ठूलो क्षतिपछि मात्रै नियन्त्रणमा आउनुको अर्को कारण दमकल र पानीको अभाव पनि हो। अहिले त फुङलिङमा एउटा र पाँचथरको फिदिममा दुईटा दमकल छन।
साभारः केटिम दैनिक डट कम


प्रकाशित मिति : २०७७ फाल्गुन १९, बुधबार

धेरै पढिएको

ताजा समाचार