भारतसँग जलमार्गमार्फत व्यापार स्थापित गरिने


भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालका कर्णाली, नारायणी, कालिगण्डकी तथा कोशीजस्ता मुख्य नदीहरुमा पानीजहाज सञ्चालन गरी भारतसँग जलमार्गमार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताएका छन् । भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको मारिटाइम इण्डिया समिट २०२१ को मन्त्रिस्तरिय भर्चुअल सेसनलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले यस्तो बताएका हुन्।

मन्त्री नेम्बाङले जल यातायातसम्बन्धी विभिन्न सन्धि, सम्झौता तथा सम्मेलनहरुमा प्रतिवद्धता जनाएअनुसार व्यवहारमा कार्यान्वयन गर्नतर्फ अग्रसर भएको बताए । उनले कुनै पनि देश विकसित र समृद्ध हुन यातायात र पारवहन सुविधा आधारभूत पूर्वाधारको रुपमा रहने भन्दै नेपालले यातायातको सबै क्षेत्र हवाईजहाज, रेल, सडक यायातात तथा पारवहन सुविधालाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको बताए । मन्त्री नेम्बाङ्गले नेपाल भूपरिवेष्टितबाट भूजडित देशको रुपमा विकसित भएकोसमेत उल्लेख गरे ।

उनले जल यातायात सञ्चालनसम्बन्धी नेपालको प्रयास निक्कै पुरानो भएको बताए । उनले भने, ‘यो तपाईंको लागि आश्चर्यको विषय हुन सक्छ कि नेपालले पानीजहाजसम्बन्धी ऐन सन् १९७१ मा पारित गरेको थियो । विभिन्न कारणले नेपालको पानीजहाज सञ्चालन हुन सकेन । निक्कै लामो समयपछि जल यातायातलाई अहिलेको सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।’

तीनदिनसम्म चल्ने मारिटाइम इण्डिया समिट २०२१ को भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।


प्रकाशित मिति : २०७७ फाल्गुन २१, शुक्रबार

धेरै पढिएको

ताजा समाचार