आइतबार कोभ्यासअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्‍ने


शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जनाकारी दिएका हुन् ।

साथै आइतबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको अभियानको सुरु गर्ने पनि मन्त्री त्रिपाठीले जानकारी दिए ।

कोभ्याक्स सुविधाअन्तर्गत आइतबार आउने कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो ।

सरकारले आइतबारबाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।


प्रकाशित मिति : २०७७ फाल्गुन २२, शनिबार

धेरै पढिएको

ताजा समाचार