काठमाडौं (अस) । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले काठमाडौंमा आईओटी प्रदर्शनी गर्ने भएको छ । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन स्मार्ट बनाउने प्रयासस्वरूप प्रदर्शनी गरिन लागेको हो ।
प्रदर्शनी फागुन २८ देखि ४ दिनसम्म डिल्लीबजारमा सञ्चालन हुने प्रदर्शनीमा अटोनोमस भेइकल, स्मार्ट ह्विलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एन्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहोर व्यवस्थापन, रोबटिक हातलगायत ३० वटा प्रोजेक्टका नमुना राखिनेछ ।
स्मार्ट सवारी नेपालमा कलेज स्तरमा पहिलो पटक निर्माण गरिएको कलेजका निर्देशक अमृत थापाले बताए । प्रदर्शनीमा राखिने स्मार्ट सोलुसनका मोड्युल सफ्टवेरिका कलेजमा कम्प्युटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई कम्प्युटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिन लागेको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
निःशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आईटी क्षेत्रका जिज्ञासुका लागि उपयोगी हुने श्रेष्ठको भनाइ छ ।
प्रविधि सदुयोग गरेर कसरी जीवनयापन सहज बनाउने सकिन्छ भन्ने विषयलाई मेलाले प्रस्ट्याउने प्रदर्शनीका संयोजक एवं सफ्टवेरी कलेजका स्ट्याटेजिक हेड मनोज श्रेष्ठ बताउँछन् ।
बेलायतको कोभेन्ट्री विश्वविद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्टवेरिका कलेजले बीआईटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हबसमेत तयार गरेको छ । हालको प्रदर्शनी सोही इनोभेसन हबमै विद्यार्थीले तयार गरेका हुन् ।
कलेजको पढाइ सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकून् भनेर इनोभेसन हबको परिकल्पना गरिएको हो । आर्थिक अभावका कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यावसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने अध्यक्ष श्रेष्ठले बताए । प्रदर्शनी पाँच हजारले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।
साभारः आर्थिक अभियान