नेपाली चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर शुक्रबार सार्वजनिक


नेपाली चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७८ को अवसर पारेर आगामी २७ चैतमा प्रदर्शन हुन लागेको यो चलचित्रको ट्रेलर साइराम पिक्चर्सको युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
यो चलचित्रको ट्रेलरमा कृष्ण र लीलाबीचको प्रेममा आउने आरोह–अवरोह, रोमान्स तथा सस्पेन्सलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा पुष्प खड्का, श्रद्धा क्षत्री, बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, भावना गुरुङलगायतलाई समेटिएको छ । यो चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् ।

दर्शकलाई नयाँ वर्षको कोसेलीस्वरूप आफूहरूले यो चलचित्र ल्याउन लागेको निर्देशक ओलीले बताए । कोरोनाका कारण ठप्प रहेको नेपाली चलचित्र बजारलाई यो चलचित्रले तताउने कथन निर्देशक ओलीको छ ।

आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रलाई शिव ढकालले खिचेका हुन् । यसमा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, श्रीको द्वन्द्व निर्देशन रहेको छ । यो चलचित्रमा पुष्प, श्रद्धा, बुद्धि, रवीन्द्र, नवीन, भावनाका साथमा हिउँवाला गौतम, बालकलाकार आयुष गुराँगाई, आयुषा क्षत्री, पीताम्बर आचार्यको अभिनय रहेको छ ।
रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की, केबल तामाङ छन् । यसका सहनिर्माता पीताम्बर आचार्य र रोजन श्रेष्ठ हुन् ।


प्रकाशित मिति : २०७७ चैत्र ७, शनिबार

धेरै पढिएको

ताजा समाचार