नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफ्नै निवासमा बैठक बोलाए ।


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफ्नै निवासमा आफ्नो पक्षिय शीर्ष नेताहरुको बैठक राखेका छन् ।
“एउटा त सम्पूर्ण रुपबाट राष्ट्रिय राजनीतिमा ध्यानकेन्द्रित गर्नुपर्ने अवस्था छ, संसद् पुनःस्थापनापछि एउटा कोर्षमा अघि बढ्न र संसद्लाई प्रभावकारी बनाउन कांग्रेसको महत्वपूर्ण भूमिका अपेक्षित छ,” कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, “संविधानविरोधी, लोकतान्त्रिक संस्थाहरुलाई ध्वस्त गर्ने सरकारका विकल्पका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ ।”
सरकारको विकल्पका लागि अघि बढ्न सर्वसम्मत निर्णयपछि पनि सभापति शेरबहादुर देउवाले देखाएको निस्क्रियतालाई पौडेलले रहस्यमय भन्दै आएका छन् ।
आफूलाई बैठकमा मात्र बोलाएपछि वरिष्ठ नेता पौडेलले छलफल गर्न खोजेको विषय त्यही हुन सक्ने बताएका छन् । पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विकल्पका लागि कांग्रेस आफ्नो वा अरुको जुनसुकै नेतृत्वका लागि खुला हुनुपर्ने बताएका छन् ।

“हामीले पहिले अर्ली महाधिवेशन भन्यौँ, भएन । त्यसपछि टाइम्ली अधिवेशन भन्यौँ, भएन । त्यसपछि एक वर्ष थप गर्दासमेत महाधिवेशन सम्भव हुन सकेन,” केसीले भने, “अहिले संविधान अनुसार ६ महिना थपिएको छ । यो समयमा पनि महाधिवेशन हुन सकेन भने त्यसले कांग्रेसको विधान र वैधानिकता मात्र संकटमा पार्दैन, लोकतन्त्रलाई नै कमजोर बनाउनेछ । त्यसैले अहिलेको समयमा महाधिवेशनका गतिविधि कार्यतालिकाअनुरुप सुनिश्चित गराउन आवश्यक छ ।” केसीले त्यसबाहेक पार्टीको आन्तरिक विषय पनि छलफल हुने बताए ।

गएको फागुन १५ गतेभित्र सप्तरी, बारा र सिन्धुपाल्चोक जिल्लामा मात्र बाँकी रहेको पार्टी समायोजन टुंग्याउने र क्रियाशील सदस्यता फागुन मसान्तभित्र टुंग्याउने कांग्रेसको कार्यतालिका प्रभावित भइसकेको छ ।


प्रकाशित मिति : २०७७ चैत्र ८, आईतवार

धेरै पढिएको

ताजा समाचार