काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) का लागि फ्रेन्चाइज टोली ललितपुर सिटी फुटबल क्लबले आधिकारिक रूपमै मुख्य प्रशिक्षकका रूपमा प्रदीप हुमागाईंलाई अनुबन्ध गरेको छ । अक्सनमा ललितपुरको टोलीमा रहे पनि फ्रेन्चाइज टोलीले उनलाई औपचारिक रूपमा प्रशिक्षक घोषणा गरेको थिएन ।आर्थिक पक्ष सार्वजनिक नगरिए पनि उनलाई यो सिजन नियुक्त गरिएको हो । ललितपुर सिटीकी मालिक कामना गुरुङले प्रशिक्षक हुमागाईंसँग सम्झौता गरी उनको उपस्थितिमा ललितपुरले उपाधि जित्ने अपेक्षासमेत गरिन् । सात वर्षदेखि अमेरिकामा रहेका हुमागाइँले नेपाल फर्किएर फुटबल क्लब सम्हाल्न लागेको पहिलोपल्ट हो ।
‘उहाँको उपस्थितिले हाम्रो टिम थप बलियो र ऊर्जावान भएको छ । उहाँको नेतृत्वमा ललितपुरले थप उचाइ लिने अपेक्षा छ,’ गुरुङले भनिन् । नेपालमै पहिलोपल्ट हुन लागेको एनएसएलमा ललितपुर सिटीको स्वामित्व भाटभटेनी ग्रुपसँग छ ।
‘लामो समय नेपालबाहिर भए पनि म नेपाली फुटबलबारे राम्रो जानकार छु । नेपाली खेलाडीको स्तरबारे थाहा छ र उनीहरूलाई सोही स्तरअनुसार सन्तुलित प्रदर्शन गर्न प्रोत्साहित गर्नेछु,’ सम्झौतापछि हुमागाईंले भने, ‘राम्रो गर्नुपर्ने दबाब छ र अहिले कुराभन्दा काम गर्ने समय आएको छ । छोटो समयमा ललितपुर सिटी व्यवस्थापनले गरेको विश्वास गुम्न दिन्न । फुटबल टिम गेम हो र यहाँ खेलाडी, प्रशिक्षक र व्यवस्थापनको सहकार्य महत्त्वपूर्ण हुन्छ ।’
हुमागाईंको प्रशिक्षणमा थ्रीस्टार क्लबले २०६९ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको थियो । सोही वर्ष उदयपुर गोल्डकप र आहा–रारा गोल्डकपको उपाधि थ्रीस्टारले जित्दा उनकै प्रशिक्षण थियो । त्यसयता अमेरिका पुगेका उनले पेन्सिलभेनिया राज्यमा रहेको किस्टोन एथलेटिकमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको बताएका छन् । किस्टोन एथलेटिक इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडअन्तर्गतको एकेडेमी हो ।
एनएसएल वैशाख ११ देखि दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा ललितपुर सिटीसहित ७ टोलीको सहभागिता रहनेछ । राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्ट ‘मार्की खेलाडी’ रहेको ललितपुरले शुक्रबार अक्सनमा १४ खेलाडी किनेको छ । दुई स्थानीय प्रतिभा र तीन विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । प्रशिक्षक हुमागाइँले आफ्नो टोली सन्तुलित रहेको र छिट्टै प्रशिक्षण सुरु गर्ने बताए ।
ललितपुरले अक्सनबाट मिक्छेन तामाङ, नवीन लामा, विनोद गुरुङ, प्रवेश दनुवार, कमल श्रेष्ठ, एरिक विष्ट, विमल रानामगर, रोहित कार्की, सरोज योञ्जन, रञ्जन विष्ट, नीरज बस्नेत, पाल्साङ लामा, गौरव बुढाथोकी र अर्पण कार्कीलगायत खेलाडी लिएको थियो ।
साभारः ईकान्तिपूर