महोत्तरीको जिल्लाको भंगहा नगरपालिका–८ का ८ जना बेपत्ता किशोरीहरु गएराति नेपाल ल्याइएको छ ।
भङ्गाह नगरपालिकाका मेयर सञ्जिवकुमार साहका अनुसार हिजो भारतको सितामढीमा फेला परेका उनीहरुलाई प्रक्रिया पुर्याएर नेपाल ल्याइएको हो ।
आज थप सोधपुछ र अनुसन्धान गरेपछि परिवारको जिम्मा लगाइने पनि उहाँले बताउनुभयो । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाउनको लागि सहयोग गर्न उनीहरुलाई मेयर साहको रोहबरमा तत्काल प्रहरीमा नै राख्न परिवारजन सहमत भएको हो ।
अस्ति मंगलवार घरबाट घाँस काट्न गएका भङ्गाहा नगरपालिका–८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए ।
भारतको सीतामढी प्रहरीले उद्धार गरेपछि उनीहरुले आफूहरु गायिका बन्न हिँडेको बयान दिएका थिए । उनीहरुलाई बाहिर लैजान कसैको संलग्नता भएको हुन सक्ने आशङ्का गरिएको छ ।