ल्याण्डलाइन टेलिफोन प्रयोग गर्नेको संख्या अहिलेसम्मकै उच्च


पछिल्ला केही वर्षमा लगातार रुपमा घट्दै गएको ल्याण्डलाइन अर्थात तारयुक्त टेलिफोन सेवाको प्रयोग अप्टिकल फाइबर आएसँगै बढ्न थालेको छ । मोबाइल प्रविधिको लोकप्रियता बढेसँगै विगत तीन वर्षदेखि घट्दै गएको ल्याण्डलाइन तथा पीएसटीएन टेलिफोन सेवाको प्रयोग यस वर्ष बढेको हो ।

नेपालमा सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मात्रै ल्याण्डलाइन टेलिफोन सेवा उपलब्ध गराउँदै आएको छ । अप्टिकल फाइबरमा आधारित एफटीटीएच इन्टरनेट सेवा सुरु भएसँगै कम्पनीले अहिले त्यसैमार्फत ल्याण्डलाइन र आईपीटिभी सेवा समेत दिन थालेको छ ।

यद्यपी एफटीटीएच मार्फत उपलब्ध गराउन थालिएको भ्वाइस सेवालाई एफटीटीएचमा आधारित फिक्स भ्वाइस सेवा भन्ने गरिएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार २०७४ को माघमा टेलिकमको ल्याण्डलाइन तथा फिक्स भ्वाइस सेवा प्रयोग गर्ने ग्राहकको संख्या ६ लाख ८५ हजार ८२३ रहेको थियो ।

तर त्यसयता लगातार रुपमा त्यसको प्रयोग घट्दै गत पुषसम्म आइपुग्दा ६ लाख ६ हजार ८५७ मा सीमित भइसकेको थियो । तर पछिल्लो समय एफटीटीएच प्रयोगकर्ताले समेत ल्याण्डलाइन सेवा लिन थालेपछि ल्याण्डलाइन टेलिफोन प्रयोग गर्नेको संख्या अहिलेसम्मकै उच्च भएको छ ।

प्राधिकरणका अनुसार हाल देशभर ६ लाख ९३ हजार २४८ नाघेको छ । जुन अहिलेसम्मकै उच्च हो । यद्यपी समग्रमा नेपालको भ्वाइस सेवामा फिक्स टेलिफोन सेवाको बजार हिस्सा समेत खुम्चिएको छ ।
साभारः टेकपाना


प्रकाशित मिति : २०७७ चैत्र २१, शनिबार

धेरै पढिएको

ताजा समाचार