चापागाउँ (ललितपुर) । गोदावरी साहित्य परिषद्ले विभिन्न पाँच विधाका स्रष्टालाई नगदसहित सम्मान गरेको छ । झरुवारासीमा शनिबार आयोजित समारोहबीच अग्रज साहित्यकार विष्णुप्रसाद न्यौपानेलाई भाषा–साहित्यतर्फ मरणोपरान्त तथा ललित कलाकार सुरेम देशारलाई ‘गोदावरी कला’ सम्मान ११ हजार १ सय ११ नगदसहित प्रदान गरिएको छ ।
सम्मानित अन्य स्रष्टामा डा देवी नेपाल (भूमिका लेखन), संगीतकार जुगल डंगोल, अनिल महर्जन (आवरण चित्र), भूषण कपाली (साजसज्जा) र सद्गुरु अफसेट प्रेस प्रालि (मुद्रण) रहेका छन् ।
गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले उनीहरूलाई संयुक्त रूपमा सम्मान गरेका हुन् ।
समारोहबीच चार फरक विधाका कृति वशिष्ठ अधिकारीको ‘मदानी’ (गजल संग्रह), सावित्री न्यौपानेको ‘उनिउँको फूल’ (मुक्तक संग्रह), रत्न विरही घिमिरेको ‘समयको रुमाल’ (छन्द कविता संग्रह) र परिषद्को मुखपत्र ‘गोदावरी’ लोकार्पण गरिएको छ ।
सोही अवसरमा नगरप्रमुख महर्जनले गोदावरी क्षेत्रभित्र ओझेल परेका कला, संस्कृति तथा परम्परा जगेर्ना गर्नकै लागि परिषद् गठनको अवधारणा विकास भएको उल्लेख गरे । आफ्नो प्रत्यक्ष पहलमा गोदावरी साहित्य परिषद् गठन भएको स्मरण गराउँदै उनले अन्य क्षेत्र उत्थानका लागिसमेत नगरपालिका सक्रियतापूर्वक लागिपर्ने प्रतिबद्धतासमेत जनाए ।
अग्रज संगीतकर्मी जगमोहन वामीले बिना संगीत ‘आयो र गयो’ प्रसंगमा जीवन प्रदायक गिती पंक्ति सुनाए । ‘म बुढोले बोलेको झर्को लाग्यो भने हात उठाउनु होला, म तत्काल माइक छोड्नेछु,’ उनले भने, ‘पाँच मिनेट समय दिनुस्, म आयो र गयो मात्रै भन्न चाहन्छु ।’
तीनताका रेडियो नेपालमा धुम मच्चाइसकेका गायक तथा संगीतकार वामीले पाँच मिनेटमात्रै हैन, आधा घण्टा सबैलाई मुग्ध बनाए । गाउँठाउँका भजन मण्डलीमा अझै सक्रिय वामीका शब्दले धेरैलाई छोयो । ‘दुई शब्द बोल्ने अवसर दिनुभएकोमा मुरीमुरी धन्यवाद छ,’ मञ्चबाट बिदा हुँदै गर्दा वामीले भने ।