काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्।
त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पनि तीनरचार दिनदेखि कोभिड शयया भरिभराउ छन्। बिरामी भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयसँगै समन्वय गरेर अन्यत्र पठाइरहेको अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाले बताए।
कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डेले बताए।
सरकारले जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक लागू गर्न, गराउन आदेश दिए पनि पूर्ण रूपमा पालना हुन नसकेकाले स्थिति गम्भीर बन्दै गएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। मापदण्ड पालना हुन नसकेपछि अर्को कदम चाल्नुपर्ने स्थिति आइसकेको उनले बताए। ‘स्थिति गम्भीर छ, जनस्वास्थ्य मापदण्ड पालना नभएमा गाह्रो छ’, उपत्यकामा लकडाउनसमेत गर्नुपर्ने अवस्था आइसकेको तर्फ संकेत गर्दै उनले भने। नागरिक दैनिकमा खबर छापिएको छ ।