यातायात व्यवसायीमाथि भेदभाव भएको गुनासो


बिहीबारदेखि सुरु हुने निषेधाज्ञामा हवाई सेवा सञ्चालन गरेर सार्वजनिक यातायातलाई मात्र रोक्नुु सरकारको विभेदकारी निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घले बुुधबार विज्ञप्ति जारी गरी हवाई सेवा सञ्चालन गर्ने तर सार्वजनिक यातायातलाई मात्र रोकेर कोरोना नियन्त्रण हुन नसक्ने दाबी गरेको छ ।

हवाई सेवा सञ्चालन गर्ने हो भने सार्वजनिक यातायातलाई पनि स्वास्थ्य मापदण्ड लागू गरेर सञ्चालन गर्न दिनुुपर्ने महासङ्घका महासचिव सरोज सिटौलाको भनाइ छ । उनले भने , “गाडीबाट कोरोना फैलिने हवाई यातायातबाट नफैलिने भन्ने कुरा होइन ।

सरकारको निर्णय नै विभेदकारी भयो, यस्ता निर्णयले कारोना रोकथाम हुुनसक्छ भनेर हामी कसरी विश्वस्त हुने ?  यो त सार्वजनिक यातायातमाथिको विभेद हो । ”

जोरबिजोर प्रणाली लागूगरी स्वास्थ्य मापदण्डमा कडाइ गरेर सार्वजनिक यातायात सञ्चालन गर्न सकिने महासङ्घको सुुझाव छ । गत वर्ष झन्डै सात महिना बन्द भएको सार्वजनिक यातायात पुनः उत्तिकै समय बन्द हुने हो भने उठ्न नसक्ने महासङ्घको दाबी छ ।

व्यवसायीहरू विस्तापित हुने र सार्वजनिक यातायात क्षेत्र धराशयी हुनसक्ने सम्भावनाप्रति पनि बेलैमा सजग हुन महासङ्घले ध्यानाकर्षण गरेको छ ।


प्रकाशित मिति : २०७८ बैशाख १६, बिहीबार

धेरै पढिएको

ताजा समाचार