निषेधाज्ञा गर्दा कृषकका तरकारी बारीमै कुहिन थाले


पश्चिम चितवनको भरतपुर महानगरपालिका २५ की नौमाया बिकलाई अहिले पिर पर्न थालेको छ । आफ्नो तीन कठ्ठा खेतमा विगत दुई बर्षदेखि तरकारी खेती गरिरहेकी उनलाइ तरकारी बिक्री नभएर पिर पर्न थालेको हो ।

कोरोनाका कारण देशमा भएको दोस्रो चरणको निषेधाज्ञाले विभिन्न क्षेत्रहरु जस्तै कृषि क्षेत्रमा पनि पारेको प्रभावले गर्दा बिक लगायत देशभरका किसान अहिले चिन्तामा छ्न । दुख गरेर उत्पादन गरेको तरकारीले उचित मूल्य सहितको बजार नपाउँदा आफू चिन्तित भएको बिकले बताइन् ।

‘तरकारी खेती गरेरै अहिलेसम्म जेनतेन निर्वाह गर्दै आएकी थिए । सन्तानलाइ स्कुल पढाउन सकिरहेकी थिए । तर अहिले त तरकारी पनि बिक्री भएन । लगानी समेत उठेन ।’ बिकले गुनासो गरिन् ।

लकडाउन अघि लामो समयसम्म खेतमै बिताउने बिक अहिले पुर्पुरोमा हात राखेर गहिरो चिन्तामा परेकी छिन् । अरुबेला उनको दैनिकी खेतमै मलजल गर्ने, गोडमेल गर्ने, मजदुर साथिहरुसँग हास्दै रमाउँदै खेतमा काम गर्दै बित्ने गर्थ्यो । तर अहिले बजारमा तरकारिको माग नहुँदा आफ्नै खेतमा तरकारी कुहिएको हेर्न बाध्य बनेकी छिन उनी ।

तरकारी खेतभरी लटरम्म फले पनि बिकलाई अब त्यो तरकारी टिप्नु छैन । ‘बरु कुहिएरै जाओस, तरकारी टिपेर कुनै फाइदा छैन । निकै न्यून मूल्य दश रुपयाँ पाँच रुपैयाँमा तरकारी बेच्नुको कुनै अर्थ छैन’ उनले भनिन् ।

यस्तै बिक कै खेतमा मजदुरी गर्दै आएकी भरतपुर २५ कै मिना महत्तोको पीडा पनि उस्तै छ । विगत ८ वर्षदेखि मजदुरी गर्दै आएकी महत्तो १०० रुपैयाँ देखि लिएर अहिले ४०० रुपैयाँमा अरुको खेतमा दैनिक ८ घण्टा काम गर्दै आइरहेकी छिन् ।

‘हामी मजदुरहरुको ज्यालामा पनि एकरुपता छैन । कसैले तीन सय दिन्छन्, कसैले चार सय दिन्छन् त कसैले दुई सयमै काम लगाउने गरेका छन् ।’ महत्तोले गुनासो गरिन् । गरिबीकै कारण सामान्य अवस्थामा पनि दैनिकी चलाउन गाह्रो भैरहेको महत्तोलाई अहिले निषेधाज्ञाले झन् पिरोलेको छ । अर्काको अँधिया गरेर अहिलेसम्म जेनतेन जुगाड गरिरहेको भएता पनि अब यसरी नै निषेधाज्ञा थपिने हो भने घरमा चुलो बाल्न पनि गाह्रो पर्ने महत्तोले दुखेसो गरिन् ।

यस्तै भरतपुर २५ कै अर्का तरकारी खेती गरिरहेका युवा किसान चिरञ्जीवी सापकोटाको पनि अवस्था उस्तै छ । आफ्नै खेतमा काँक्रो, टमाटर, बोडी र करेला लगाएका सापकोटाको पनि काँक्रो र टमाटर खेतमै कुहिएका छन् ।

लगाएको तरकारी बिक्री गर्न नसकेर कुहिएकोले सारा लगानी बालुवामा पानी भएको सापकोटाले बताए । निशेधाज्ञाकै कारणले आफूलाई यस्तो पर्दा नि सरोकारवाला निकायबाट केही सहयोग नपाउँदा दुख लाग्ने गरेको बताउँदै उनले काम गर्न जाँगर पनि मरेको बताए ।

तर सोही वडामा तरकारी खेती गरिरहेका युवा किसान लेखनाथ भुसालको भने कथा अल्लि बेग्लै छ । भरतपुर २५ को शुक्रनगरमा सय बिघा जमिनमा १८ जना युवाहरुको सामुहिक तरकारी खेतिमा भने यसपाली घाटा कम छ ।

सामुहिक खेती गरेकै कारण निषेधाज्ञाले गर्दा धेरै नोक्सानी नभएको भुसालले बताए । ‘एक्लाएक्लै खेती गर्दा ठाउँमा कुरा पुर्‍याउन नसक्ने, बिचौलियाले पेल्ने, मूल्य नपाउने समस्या थियो । त्यसमाथि निषेधाज्ञा हुँदा तरकारी बारीमै कुहिएको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता थियो, उनले भने, ‘समुहमा खेती गर्न थालेपछि यी समस्याहरु हट्दै गएका छन् ।’ निषेधाज्ञाको सुरुवातमा करेला र काँक्रोमा घाटा लागे पनि अन्य तरकारीबाट घाटा हुन नपाएको भुसालले बताए ।

किसानहरु महानगरपालिका आउनुपर्छ, हामी जान जनशक्ति छैन ।
भरतपुर महानगरपालिकाको कृषि शाखाका पुर्षोतम तिवारीले किसानहरु समस्या लिएर महानगरपालिका नआएकाले आफूले केही गर्न नसकेको बताए । गत वर्ष पनि गरिमा धान र गाजर खेतीमा यस्तै समस्या आएकाले गरिमा धान लगाएका कृषकहरुलाई क्षतिपूर्ति दिएको तिवारिले बताए । मजदुर ज्यालाको सवालमा भरतपुर महानगरपालिकाले ५८० रुपैयाँ तोकेको उनले बताए । तर महानगरको कृषि शाखामा जनशक्तिको अभावले गर्दा अनुगमनका लागि किसानको खेतसम्म जान नसकेको तिवारीले बताए । बिचौलियाको बिगबिगिबाट जोगिन किसानहरु अब संगठित हुनुपर्नेमा तिवारिको जोड थियो ।

निषेधाज्ञाबाट प्रभावित किसानहरुको लगत संकलन गरिने
निषेधाज्ञाका कारण तरकारी बजारसम्म पुग्नलाई प्रशासनबाट केही रोकतोक नभए पनि बजारमा माग कम हुँदा किसानहरु मारमा परेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए । बजारमा ल्याउन समस्या नभएको बताउँदै उनले मुख्य बजारका उपभोक्ता नै गाउँतर्फ गएकाले तरकारी बिक्री हुन नसकेको बताए ।

किसानको समस्या समाधान गर्न आफूहरु लागि परेको ढकालले बताए । कोरोना प्रभावित किसानहरुको लगत संकलन गरेर कृषि उत्पादन सामाग्री सहयोग कार्यक्रम ल्याउन पहल गरिने उनले बताए ।

प्रशोधन र भणडारण गरे तरकारी कुहिँदैन
किसानले उत्पादन सँगै प्रशोधन र भणडारण गर्ने हो भने तरकारी कुहिएरै फाल्नुपर्ने अवस्था नआउने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले बताए । किसानका तरकारी बजारिकरणका लागि सहज बनाउन ढुवानीका लागि भरतपुर महानगरपालिका अन्तर्गत केरुङा ताजा तरकारी उत्पादक सहकारी, साटम्बरी र ज्ञानेश्वर ताजा तरकारीलाई जिम्मा दिएको उनले बताए ।

यद्यपी अहिलेसम्म ढुवानीका लागि सहुलियत दिने कार्यक्रम नभएको र आगामी दिनमा यस्ता कार्यक्रम ल्याउने तिमिल्सिनाले बताए । किसानले बजार मूल्य पाएन भने ग्यारेन्टी गर्ने नीति तथा कार्यक्रम आउनुपर्नेमा तिमिल्सिनाको जोड थियो ।

 


प्रकाशित मिति : २०७८ जेष्ठ २१, शुक्रबार

धेरै पढिएको

ताजा समाचार