रामायणको त्यो समय जतिखेर जनकपुरी,मिथिला वा विदेहको वैवाहिक सम्बन्ध अयोध्यासित जोडिएको थियो।त्यस समयमा विदेह आसपासका राज्य वा देशहरू कुन कुन थिए ?
मौलापुर (रौतहट) नगरपालिकाको पतौरामा अतिप्राचीन महादेव मन्दिर र मूर्तिहरू भेटिएका छन्।धरतीभित्र एउटा ठूलो दरबारको अवशेष भेटिएको छ। यसको वास्तविकता के हो ? दिवंगत पुरातत्वविद् चन्देश्वर मिश्रले विदेह जनकको समकालीन पुरातात्विक संरचनाको रूपमा यसलाई व्याख्या गरेका छन्।र, मलाई पनि वैशालीको लिच्छविकालीन समयको संरचना रहेको पहिलेदेखि लाग्ने गरेको छ भनी बताउने गरेको छु।
सांकाश्या नरेश सुधन्वाले जानकी (सीता)सित विवाह गर्न विदेहलाई चारैतिरबाट एक वर्षसम्म घेरेर राखेको र युद्ध भएको प्रसंग रामायणमै पाइन्छ।यस युद्धमा सिरध्वजका भाइ कुशध्वज (कतै कतै धर्मध्वज नाम भएको पनि उल्लेख पाइन्छ) ले ठूलो सहयोग गरी सुधन्वालाई हराएका थिए।कुशध्वज पनि पराक्रमी भएकाले सिरध्वजले कुशध्वजलाई उनले जितेको र विदेहमाथिको ठूलो संकटलाई निमिट्यान्न पारेकाले सांकाश्याको राजा बनाइदिएका हुन्छन्।सांकाश्या र कुशध्वजको विषयमा श्रीमद्वाल्मीकीय रामायणमा लेखिएका यी श्लोक हेरौँ :
भ्राता मम महातेजा वीर्यवानतिधार्मिकः।
कुशध्वज इति ख्यातः पुरीमध्यवसच्छुभाम् ।।
वार्याफलकपर्यन्तां पिवन्निक्षुमतीं नदीम् ।
सांकाश्यां पुष्यसंकाशां विमानमिव पुष्पकम् ।।
बालकाण्डको ७०औं सर्गको दोस्रो र तेस्रो श्लोक हुन् यी।यसको भावार्थ यसरी बताइएको छ:“मेरो महातेजस्वी तथा पराक्रमी भाइ कुशध्वज जो अत्यन्त धर्मात्मा छन्,यस समय इक्षुमती नदीको जल पिउँदै त्यसैको किनारमा बसेको कल्याणमयी सांकाश्या नगरीमा निवास गर्दछन्।उनका चारैतिरको पर्खालको रक्षाको लागि शत्रुलाई निवारणार्थ समर्थ ठूल्ठूला यन्त्रहरू लगाइएका छन्।त्यो पुरी पुष्पकविमान समान विस्तृत तथा पुण्यले उत्पन्न हुने स्वर्गलोक सदृश सुन्दर छ।”
इक्षुमती नदी कुन वा कहाँ हो ? यस विषयमा वाल्मीकीय रामायणमा स्पष्ट छैन । कतिपयले इक्षुमती नदी यमुनालाई मानेका छन्।तर त्यत्ति टाढाबाट विदेहलाई चारैतिरबाट घेरेर सिरध्वजलाई एक वर्षसम्म युद्धमा अल्झाउने काम गरेको प्रसंगले अहिलेको अनुमानअनुसार कतिको सम्भव होला ?
(अहिले पतौराको पूर्वमा रहेको बकैया नदीलाई इच्छानुसार बग्ने नदीको रूपमा बूढापाकाहरूले लिने गरेका छन्।धेरै कालपूर्व यो नदी पतौराभन्दा पछिम थियो । यसको अवशेष अद्यपर्यन्त छ । इच्छानुसार बग्ने भएकोले त्यो बेला यसैको नाम इक्षुमती थियो कि ?)
आचार्य चतुरसेनले वयं रक्षामः मा तत्समयको भूगोलको विषयमा संक्षेपमा उल्लेख गरेका छन्।सेनका अनुसार विदेहमा सिरध्वज,विदेहको संकाश्य शाखामा धर्मध्वज,वैशालीमा प्रमति,शर्यात शाखामा मधु यादव राज्य गरिरहेका थिए। मगधमा सुधन्वा,काशीमा ऋतुध्वज,माहिष्मतीमा सहस्रार्जन,मालवमा दुर्जय तथा उत्तरी बिहारमा सुबाहु राज्य गरिरहेका थिए।
सुधन्वा मगधका राजा थिए कि सांकाश्याका ? यहाँ फरक मत देखिएको छ। मगधका राजा भएको भए सम्भव हुन्छ कि मगधबाट विदेहलाई घेरेर एक वर्षसम्म युद्ध गर्न सजिलो भएको होला।यहीँनेर के पनि विचार गर्नु आवश्यक देखिन्छ भने सेनले विदेहको संकाश्य शाखा भनेका छन्।यसको अर्थ सांकाश्या चाहिँ विदेशकै शाखा राज्य थियो ।यदि शाखा राज्य हो भने यो विदेशकै निकट हुनुपर्छ।
दशरथका तीन रानीमध्ये कौशल्या चाहिँ कौशल भन्ने देशकी, कैकेयी चाहिँ कैकेय देशकी राजकुमारीहरू हुन् भने सुमित्रा ? सुमित्राको विषयमा पनि एकमत रहेको पाइँदैन।कतिपयले सुमित्रालाई काशी नरेशकी पुत्री बताएका छन्।काशी भनेको बनारस हो र यो अयोध्याभन्दा झन्डै दखिनमा अवस्थित छ तर पौराणिक सन्दर्भका विश्वसनीय साहित्यकार सेनले सुमित्रालाई मगधका बताएका छन्।यथा :“दशरथ महान योद्धा र प्रतापी राजा थिए।उनका तीन पत्नी थिए।प्रथम –दक्षिण कोशलाधिपति भानुमानकी पुत्री कौशल्या,दोस्री – मगध राजकुमारी सुमित्रा तथा तेस्री–उत्तरपश्चिमी आनवका नरेश केकयपुत्री कैकेयी।” वयं रक्षामःमा स्पष्ट लेखिएको छ । सुमित्राको माइती देशको विषयमा दुई किसिमको तर्क पाइनुमा यो पनि कुराले प्रभाव पारेको हुनुपर्छ कि दशरथले काशी र मगध दुवैमाथि युद्धमा विजय प्राप्त गरेका थिए र दुवैलाई आफ्नो अधिन बनाएका थिए।
यहाँ विदेहको संकाश्य, वैशालीको शर्यात र उत्तरी बिहार गरी तीन राज्यको प्रसंग निकै महत्वपूर्ण रहेको छ।विदेहको संकाश्य शाखामा धर्मध्वज (कुशध्वज), वैशालीको शर्यात शाखामा मधु यादव तथा उत्तरी बिहारमा सुबाही राजा भएको र तीन जना समकालीन भएको उल्लेख पाइन्छ।यिनीहरू विदेहका सिरध्वजका समकालीन हुन्।वाल्मीकी रामायणले वैशालीमा सुमति राजा भएको उल्लेख पाइन्छ भने सेनले वैशालीको राजा प्रमति भएको उल्लेख गरेका छन्।सुमतिका छोरा प्रमति भएको विभिन्न प्रमाणहरूमा उल्लेख पाइन्छ।
अब अहिले विचार गरौँ,ती तीन राज्यहरू कहाँ हुनुपर्छ ?
यदि विदेहको शाखा संकाश्य हो भने यो राज्य विदेशकै सीमाको आसपास हुनुपर्दछ।रामायणमा भनिएको इक्षुमती नदी जसरी अहिले यमुना हो भनेर चिनाइन्छ,सम्भवतःयो फरक हुन सक्छ र यसै आसपासको कुनै नदी हुनुपर्छ ।कालान्तरमा यस नदीको नाम नै परिवर्तन भएको हुनुपर्छ।अहिलेसम्म कतै संकाश्य नगरीको अवशेष फेला परेको सुनिएको छैन र कतै यस नगरीको बारेमा उल्लेख भएको पनि पाइँदैन।रामले धनुषभंग गरेपछि कुशध्वजलाई सपरिवार बोलाइएको रामायणमा बताइएको छ तर समय वा अवधिबारे केही खुलाइएको छैन।सेनले शाखा राज्य भनेबाट विदेहको निकट नै भएको अनुमान गर्ने आधार देखिएको छ।
वैशालीको शर्यात शाखामा मधु यादव राजा भएको सेनले उल्लेख गरेका छन् । सबैभन्दा स्पष्ट भूगोल वैशालीको रहेको छ।वैशालीको भूगोल तथा इतिहासको विषयमा जति स्पष्ट छ र तथ्य तथा प्रमाणहरू,भग्वानशेष तथा स्तम्भहरू सुरक्षित छन्, त्यत्ति अन्यत्र रहेको पाइँदैन।भगवान बुद्धले उपयोग गरेको पुष्करणी पोखरी, उपदेश दिएका ठाउँहरू,सम्राट अशोकले निर्माण गरेको अशोक स्तम्भ तथा रामायणमा वर्णित राजा विशालले स्थापना गरेको विशालापुरीको अवशेष सबै सुरक्षित छन्।यो ठाउँ पटनाभन्दा उत्तरमा छ जुन अहिले पनि वैशाली एउटा जिल्ला हो बिहारको।रामायणको समयमा विश्वामित्रसित राम र लक्ष्मण वैशालीमा पुग्दा सुमति राजा भएको वाल्मीकीय लगायत अन्य रामायणहरूमा पनि स्पष्ट उल्लेख पाइन्छ।सेनले वैशालीको शाखा राज्यको रूपमा शर्यातलाई उल्लेख गरेका छन् र शर्यात शाखामा मधु यादव राज्य गरिरहेको भनेका छन्।यसको शाखा राज्यको रूपमा शर्यातको उल्लेख पाइनु र यहाँका राजा मधु यादव भएको पाइनु आफैमा सान्दर्भिक छ।शाखा राज्य गंगाभन्दा दक्षिण हुनुनपर्ने हो किनभने वैशालीसित सम्बन्धित सबै साहित्य तथा इतिहासमा यस साम्राज्यको सीमा गंगाभन्दा उत्तर नै रहेको उल्लेख पाइन्छ।यस आधारमा शर्यात शाखा गंगाभन्दा उत्तरकै क्षेत्रमा हुुनुपर्छ र वैशालीकै आसपासको क्षेत्रमा हुनुपर्छ।यो शर्यात क्षेत्र वा भूगोल तथा यहाँका राजा भनिएका मधु यादवको विषयमा गहन अनुसन्धान हुनु आवश्यक छ।
यसै गरी उत्तरी बिहारमा सुबाहु राज्य गरिरहेको भनिएको छ।यो उत्तरी बिहार भनेको पनि करिब यही क्षेत्र हो ।उत्तरी बिहार भनेर करिब अमूर्त क्षेत्र दिइए पनि सुबाहुलाई राजा बताइएको छ।सुबाहुको विषयमा पनि खासै कतै उल्लेख पाइन्न तर सेनको तर्कलाई केही समर्थन तुलसीकृत रामायणमा पाइन्छ।यस रामायणमा सुबाहुलाई नकारात्मक पात्रको रूपमा चिनाइएको छ।यसबाट यो अनुमान लगाउन सकिन्छ कि सुबाहु रामको विपक्षका थिए।जब विदेह र वैशाली दुवै रामपक्षका साम्राज्यको रूपमा रहेका हुन्छन् भने उत्तरी बिहार (सुबाहु) कसरी विपक्षका हुन गए ? तथा यिनको मूर्त भूगोल कुन हो ? उत्तर अज्ञात छ ।
विदेहको संकाश्य वा वैशालीको शर्यात वा उत्तरी बिहार:यी तीनमध्ये कुनै पतौरा पो थियो कि ? पतौराको खण्डहरले आफ्नो परिचय खोजिरहेको छ।
-सञ्जय साह मित्र