यस्तो रहेको छ नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजनीतिक इतिहास


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकीकी प्रदेश प्रमुख सीता पौडेलले नेपालीलाई नेपालको संविधानको धारा १६८(५) बमोजिम नियुक्त गरेकी हुन् ।
बिहीवार नेकपा एमालेका तर्फबाट यस अघि मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत लिन नसकेपछि नेपाली मुख्यमन्त्री बनेका हुन् । उनी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
२०४८ सालदेखि निरन्तर १९ वर्ष नवलपरासी कांग्रेसको सभापति बनेका पोखरेल कांग्रेसभित्र निष्ठावान नेताका रुपमा चिनिन्छन् ।
७१ वर्षीय नेता पोखरेलको राजनीतिक पृष्ठभूमिकै परिवारमा जन्म र हुर्किएका थिए । उनका बुवा प्रजातन्त्र सेनानी गोवर्द्धन शर्मा हुन् । गोवर्द्धन शर्मा नेपाली काँग्रेसको केन्द्रीय सदस्य पनि थिए । पोखरेल २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका हुन् ।

उनको राजनीतिक इतिहास लामो छ । उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा ५–६ पटक जेलनेल समेत भोगेका छन् । २००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । उनी कांग्रेसमा आफ्ना बुवाको प्रेरणाबाट सक्रिय भएका हुन् । उनका पिता गोवद्र्धन शर्मा तनहुँको कांग्रेस राजनीतिमा सक्रिय थिए । उनको परिवार तनहुँबाट बसाइँसराइ गरी पूर्वी नवलपरासीमा बसोबास गर्न थालेको हो ।
उनको विद्यार्थी राजनीति तनहुँबाटै सुरु भएको हो । प्रजातान्त्रिक समाजवादलाई शिरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील उनी निष्ठा र त्यागी नेताको रुपमा चिनिन्छन् । २०२८ सालमा नेपाली काँग्रेसको जिल्ला सदस्य बनेका कृष्णचन्द्र नेपाली पोखरेल आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल परेका छन् । नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य समेत बनेका पोखरेल २ विषयका स्नातक हुन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।
प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयबाट पूरा गरेका उनी माध्यमिक शिक्षा पढ्न भारत पुगेका थिए । उनले माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका थिए । दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किएका थिए । पछि कानुनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका हुन् ।

नेपाली २०७४ को प्रदेश सभा निर्वाचनमा नवलपुर (पूर्वी नवलपरासी) १ को ‘क’बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलको नेता समेत हुन् । उनी कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बनेका थिए । प्रजातन्त्र बहालीका लागि उनले पटक–पटक जेल जीवन बिताए। काभ्रे र तनहुँमा उनले शिक्षक भएर काम पनि गरेका थिए। शिक्षक भई राजनीतिमा सक्रिय भएको आरोपमा तत्कालीन शासकले उनको शिक्षक पेसा खोसेको थियो ।
२०२९ देखि २०३६ सम्म उनले अध्यापन गरेका थिए। निर्वाचन बहिष्कार गर्ने क्रममा २०३७ साल र पहिलो जनआन्दोलन २०४६ मा उनी जेल परेका थिए । उनी २०४८ सालको निर्वाचनमा नवलपरासी–४ बाट उम्मेदवार बनेका थिए। यसैगरी, २०७० सालको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नं। ३ प्रत्यक्षतर्फबाट उम्मेदवार थिए। तर उनी पराजित भएका थिए । ७१ वर्षीय नेपाली पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् ।

उनी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको २०७४ सालमा भएको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश अन्तरगतको नवलपरासी पूर्व १ ९क० बाट निर्वाचित भएका थिए ।

२०२२ देखि २०२८ सालसम्म उनले पिता स्वयं। गोवर्द्धन शर्माका साथ भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै उनले लामो समय काभ्रेको फलानटे, तनहुँको दमौली र तनहुँको थर्पुका हाइस्कुलमा राजनीतिशास्त्र, भूगोल, इतिहास पढाएका थिए ।
२०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली काँग्रेसलाई विजयी गराएको आरोपमा मन्त्रिपरिषद्को निर्णयले उनलाई जुम्ला सरुवा गर्ने निर्णय गरेको थियो । २०३६ सालमा पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शिक्षण पेसा परित्याग गरेका थिए ।
२०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर ५ महिना जेलजीवन बिताएका थिए । त्यसअघि २०३७ सालको जनमतसंग्रहको क्रममा ८ महिना उनी कास्की कारागारमै बसेका थिए । २०३८ सालको निर्वाचनको क्रममा प्रहरीबाट यातनासँगै २ महिना जेल चलान भए ।
देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले आयोजना गरेको सत्याग्रहमा नेता पोखरेल नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका थिए । सत्याग्रहमा सरिक भएको आरोप उनी कपिलवस्तु कारागारमा १ वर्ष जेल चलान भएका थिए ।
नेता पोखरेल २०४६ सालको जनआन्दोलनमा ९ महिना पाल्पा जेल बसेका थिए । २०४८ को अधिवेशनपछि उनी लगातार ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति बनेका थिए।
२०४८ सालको आम निर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए । २०६२÷६३ सालको जनआन्दोलनमा उनले नवलपुरको नेतृत्व गरे । त्यो बेला पनि परासी कारागार चलान भए । काँग्रेसको १२ औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।
२०७० सालको प्रतिनिधिसभा चुनावमा ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव ९२०७४० मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ ९क० बाट निर्वाचनमा होमिएका थिए । निर्वाचनमा एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेशसभा सदस्य बन्न सफल भएका थिए ।
प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी काँग्रेसका १५ सांसद छन् । एमाले माओवादी गठवन्धनको बहुमत आएसँगै कांग्रेस संख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बनेको थियो । उनी प्रमुख प्रतिपक्षी संसदीय दलको नेतामा चुनिएका थिए ।
नेता पोखरेल नेपाल बार एशोसिएसनका सदस्य समेत रहेका छन् । जनपक्षीय कानुनी सेवामा समर्पित उनको प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू जेलबाट छुटेका थिए ।


प्रकाशित मिति : २०७८ जेष्ठ २९, शनिबार

धेरै पढिएको

ताजा समाचार