प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत


प्रदेश नं १ सरकारले राष्ट्रिय पत्रकार दिवसको उपलक्ष्यमा आज यहाँ चार जना पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’बाट सम्मान गरिएको छ।

यसरी सम्मानित हुनेहरुमा गञ्जबहादुर दाहाल(झापा),कौशल चेम्जोङग(उदयपुर),गोविन्दचन्द्र क्षेत्री(झापा) र ललिता भट्टराई( मोरङ) रहनु भएको छ।उहाँहरुलाई सम्मानपत्र एवं नगद रु एक लाखद्वारा सम्मान गरिएको छ।

विस.२०७७ मा कोरोना महामारीका वितरण गर्न नसकिएको पुरस्कार सहित यस बर्ष चारजनालाई वितरण गरिएको हो।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारहरुलाई दोसल्ला ओढाई सम्मान गर्दै पत्रकारिता क्षेत्र मर्यादित,जिम्मेवारीपूर्ण एवं विश्वसनिय हुनु पर्नेमा जोड दिनु भयो । उहाँले बर्तमान पत्रकारिताले भाविपुस्तालाई मार्गदर्शन दिने खालको समाजलाई योगदान दिने कार्य गर्न आग्रह गर्दै समाजलाई सहि निर्देशन दिएमा मुलकमा गणतन्त्र र सङ्घीयता बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गर्नु भयो।

मुख्यमन्त्री राईले प्रदेश सरकारले व्यवसायिक पत्रकारिताको माध्यबाट समाजलाई योगदान पुर्याए बापत पुरस्कार स्थापना गरिएको स्पष्ट पार्दै यो सङ्घीयताको उपहार भएको बताउनु भयो।

उहाँले मिडिया हाउस राष्ट्र,जनता,कानून र संविधानप्रति प्रतिवद्ध रहनका लागि आवश्यक बहस र छलफल चलाउनु पर्नेमा जोड दिनु भयो । उहाँले प्रदेश सरकार सञ्चारकर्मीहरुको केही माग र समस्या बजेट मार्फत सम्वोधन गरेको जानकारी दिदै पत्रकारिता क्षेत्रको समोचित विकासका लागि दत्तचित्तका साथ आगाडि वढेको बताउनु भयो।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा कोरोनाबाट मृत्यु भएका दुई पत्रकारका परिवारलाई राहत प्रदान गर्ने जानकारी दिनु हुदै प्रदेशका १४ जिल्लाका पत्रकार महासङ्घका भवन तथा कार्य सञ्चालनमा सहयोग प्रदान गरेको बताउनु भयो।उहाँले सञ्चारकर्मीहरुले तथ्यका आधारमा सत्य समाचार पस्कनु पर्नेमा जोड दिदै प्रादेशिक सञ्चार प्रतिष्ठान पत्रकारहरुलाई सक्षम, विकासमा कोशेढुङगा सावित हुने विश्वास व्यक्त्त गर्नु भयो।

पुरस्कृत व्यक्तित्व गोविन्दचन्द्र क्षेत्रीले पत्रकारिता क्षेत्रबाट समाजको हित एवं योगदान पुर्याउन आग्रह गर्दै पत्रकारहरुको अवस्था दयनिय रहेको गुनासो व्यक्त्त गर्नु भयो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले पत्रकारिता क्षेत्रको विकासमा सहयोग गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनु भयो ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले कोरोनाबाट सङक्रमित भै अस्पतालको आइसियुमा उपचार गरेका पत्रकारलाई आवश्यक नगद सहयोग प्रदान गर्ने जानकारी दिनु भयो।मन्त्रालयका उप सचिव कमलबहादुर थापा र नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेले व्यवसायिक पत्रकारिताबाट मुलुकमा समृद्धि कायम हुने विचार व्यक्त्त गर्नु भयो।


प्रकाशित मिति : २०७८ असार १२, शनिबार

धेरै पढिएको

ताजा समाचार