नेपालमा कोरोना भाइरस (कोभिड –१९) विरुद्धको खोप अभियान पुनः आजदेखि सञ्चालन हुँदैछ । खोप अभियान अन्तर्गत आज (मंगलवार) देखि प्राथमिकताका आधारमा खोप लगाइने भएको हो ।
चीन र अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको खोप प्राथमिकताका आधारमा सार्वजनिक यातायातका चालकरसहचालक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र विदेशी शरणार्थीसहित ५० देखि ६० वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरू गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
५५ देखि ६० वर्षसम्मको उमेर समूहलाई चिनियाँ ‘भेरोसेल’ खोप लगाइने भएको मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले बताउनुभयो । यस्तै खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूह र विश्वविद्यालयका प्रध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालकरसहचालकलाई पनि यो खोप लगाउन लागिएको हो ।
मन्त्रालयका अनुसार खोप यसअघि तोकिएका केन्द्रबाटै लगाउन लागिएको छ । यसका लागि सरकारबाट जारी भएको उमेर खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ । सरकारले चीनसँग ४० लाख डोज खोप खरीद गरेकोमा शुक्रवार पहिलो चरणमा ८ लाख डोज भेरोसेल र सोमवार कोभ्याक्स सुविधाअन्तर्गत १५ लाख ३४ हजार ८५० जोन्सन एण्ड जोन्सनको खोप नेपाल आइपुगेको हो ।