जनकपुर–जयनगर रेल प्रतिघण्टा १२० किलोमिटरको गतिमा आइतबार परीक्षण हुन लागेको छ ।
रेल सञ्चालनको पूर्वतयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गर्ने काम आइतबार हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सूचना जारी गरी जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने भट्टराईले जानकारी गराएका हुन् । महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने छ ।
‘स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकोले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ । त्यसैले आइतबार रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाइ भैँसी, चौपाया, साइकल मोटरसाइकल, बालबच्चा नछोड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरिन्छ’, महाप्रबन्धक भट्टराईले उल्लेख गरेका छन् ।
उनले परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने जानकारी समेत दिए । परीक्षणको विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं त्यसको जिम्मेवार हुने र कानुनअनुसार कारबाही समेत गरिने उनले चेतावनी दिएका छन् ।