शेखर, शशांक र सुजाता ‘लञ्च मिटिङ’मा


कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशनमा आकांक्षी देखिएका कोइराला परिवारका तीन नेताले लञ्च मिटिङ गरेका छन्।महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा डा.शेखर कोइराला र नेतृ सुजाता कोइराला पुगेका छन्।महाधिवेशनको सम्मुखमा सभापतिको दाबेदार बनेका तीन नेता एकै ठाउँमा जम्मा हुनुलाई कांग्रेस वृत्तमा महत्त्वका साथ हेरिएको छ।‘खास केही योजना होइन,पारिवारिक भेटघाट हो,नियमित लञ्च मिटिङजस्तो मात्रै हो,’ सचिवालयले भनेको छ।

हाल महामन्त्री रहेका डा.कोइराला कांग्रेसका संस्थापक नेता बिपीका छोरा हुन्।अर्का डा.कोइराला नोना कोइरालाका सुपुत्र हुन् भने नेतृ कोइराला पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी हुन्।‘आजै खास निर्णय हुने त कुरा होइन।तर,तीन नेता भेट हुँदा महाधिवेशनबारे छलफल हुने कुरा त सामान्य नै भयो’,डा.शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने।

संस्थापन इतर समूहबाट महाधिवेशनमा एकै जना उम्मेदवार बनाउने विषयमा छलफल भइरहेका वेला कोइराला परिवारका तीन आकांक्षी एकै ठाउँमा बसेर छलफल गर्न लागेका हुन्।महामन्त्री कोइरालाले आफूले मात्रै सभापति देउवालाई पराजित गर्न सक्ने बताउँदै आएका छन् भने केन्द्रीय सदस्य मात्रै रहेका नेता डा.कोइराला कांग्रेसको रुपान्तरण र भविष्यका लागि आफू सक्षम रहेको दाबी गरिरहेका छन्।उनी १३औँ महाधिवेशनलगत्तै नै सभापतिका लागि तयारीमा जुटेका थिए।नेतृ कोइरालाले पनि अहिलेसम्म कांग्रेसको सभापतिमा महिला नचुनिएको भन्दै आफू सभापतिका लागि सक्षम रहेको दाबी गरिरहेकी छिन्।

एकले अर्काको साथ खोजिरहेका वेला तीन नेता एकै ठाउँमा भेला भएका वेला कांग्रेसको नेतृत्वमा कोइराला बिरासत उभ्याउने विषयमा छलफल हुने र एक जनामात्रै उम्मेदवार बन्नेबारे योजना बन्न सक्ने नेताहरूको भनाइ छ।यस्तै,हालै कांग्रेसको नेतृत्वमा बनेको सरकारमा आफ्नो समूहबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ।

स्रोत: नयाँ पत्रिका


प्रकाशित मिति : २०७८ श्रावण ३, आईतवार

धेरै पढिएको

ताजा समाचार