जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम रहेको ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाउने बैठकले निर्णय गरेको छ । पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतवार अपराह्न बस्दैछ ।
जसपाको पार्टी आधिकारिताको विवाद निर्वाचन आयोगमा टुङ्गो लागेको छैन । आयोगले आइतवारदेखि पार्टीको विवादका सम्बन्धमा गठन गरेको इजलासबाट छलफल हुने र तीन दिनभित्र निर्णय आउने जनाइएको छ । जसपाको यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीनजना राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताए । जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद छन् । पार्टीका अर्का अध्यक्ष महन्त ठाकुरको पक्षका केही सांसद पनि यादव पक्षमा आउने जनाइएको छ ।
सरकारमा सहभागी हुँदा यादव पक्षले सरकारका न्यूनतम साझा कार्यक्रमका साथै संविधान संशोधन, नागरिकता विधेयक, कार्यकर्तामाथि लागेको मुद्दा, मुस्लिम, जनजातिको पर्वबिदालगायत विषय उठाउने भएको छ । पार्टीको कार्यकारिणी समितिको बैठक आगामी सोमबार बोलाइएको कार्यकारिणी समिति सदस्य राईले जानकारी दिए ।