काठमाडौं । आज पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बस्दैछ ।
प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बस्नेछ ।
आजको प्रतिनिधि सभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम(१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची संघीय संसद सचिवालयले जारी गरेको छ ।
बैठकमा सरकारले विधेयकहरू पेश गर्ने तयारी पनि गरेको छ ।
आजै राष्ट्रिय सभा बैठक पनि बस्दैछ । राष्ट्रिय सभा बैठक पनि अपराह्न ४ बजेको लागि बोलाईएको छ ।
असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापित गर्ने अदालतको फैसला आएसँगै सरकारले राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको थियो ।
बैठकका लागि सम्पूर्ण तयारी पुरा गरिसकेको संघीय संसद सचिवालयले बताएको छ ।