नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. भीम रावलले राजीनामा दिएका छन् ।
आइतवार प्रतिनिधि सभाका सदस्य रावलले राजीनामा दिएका हुन् ।
आइतवार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने निर्णय गरेसँगै नेता रावलले राजीनामा दिएका हुन् ।
आइतबार बिहान उनि सहित नेकपा एमाले कार्यदलका सदस्यहरु माधव नेपाललाई भेटेर संस्थागत निर्णय गरेर अघि बढ्न आग्रह गरेका थिए। तर नेता नेपालले रावल संयोजकत्वको कार्यदलको १० बुदेँ सहमति अस्वीकार गरिदिएका थिए।
नेता नेपालको खेमामा रहेका रावल केपी शर्मा ओली प्रधानमन्त्री रहँदासम्म खरो आलोचक थिए। रावललाई अध्यक्ष ओलीले माधव नेपालसँगै पार्टीबाट कारवाही गर्ने र कारवाही फिर्ता लिने कार्य समेत गरेका थिए।
रावलले राजीनामा गर्दै आफूले राजनीतिको दुषित खेलबाट अलग गरेको बताएका छन्। ‘उच्च राजनीतिक नेतृत्वमा अनैतिक र स्वेच्छाचारी व्यवहार देखियो’, रावलले संसद भवन पुगेर भने, ‘यस्तो राजनीतिको मतियार हुनु भन्दा दुषित खेलबाट अलग गर्ने निर्णय गरेको छु।’
यस्तो रावलको राजीनामा
सम्माननीय सभामुख ज्यु, प्रतिनिधि सभा सिंहदरबार काठमाडौँ ।
विषय राजीनामा
महोदय, झन्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौँ राजनीतिक आरोह अवरोह तथा घात प्रतिघात व्यहोरेको छु । र तिनको सामना गर्दै आएको छु । यो सबै मैले मातृभूमिको स्वाधीनता, स्वतन्त्रताका लागि गरेको थिए । तर राजनीतिक नेतृत्वको त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै गए ।
फलस्वरूप आज नेपाल र नेपालीहरूको शिर निहुरिँदै गएको छ । अझ केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा तथा विधि र पद्धतिलाई आफ्नो उचित एवं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश तरिकाले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा, देशभक्त र लोकतन्त्र प्रेमी नेपालीको मन रुन्छ । यस्ता विकृत तथा देश र जनताका हितविपरितका क्रियाकलापका विरुद्ध जुध्दै रोक्नका लागि जनप्रतिनिधि एवं राजनीतिक कर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे । तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनर्स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हित भन्दा निजी स्वार्थ अहम्, प्रतिशोध चरित्र र कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झने जुनसुकै नागरिकको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।
भीमबहादुर रावल सदस्य प्रतिनिधि सभा
अछाम निर्वाचन क्षेत्र नम्बर १