हप्तौंसम्म उठेन काठमाडौंको फोहोर, दुर्गन्धले महामारी फैलने डर


काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या आएको छ। जसका कारण एक सातादेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन्। फोहोर उठ्दा दुर्घन्ध बढेको छ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर उठ्न नसकेको हो।

पछिल्लो केही समयदेखि यस्तो समस्या पटक–पटक आएको छ। काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले सिसडोल ल्यान्डफिल साइट भरिएपछि फोहोर व्यवस्थापनमा समस्या देखिएको बताए।

सडकको समस्याका कारण पनि फोहोर व्यवस्थापनमा समस्या देखिएको प्रमुख श्रेष्ठको भनाइ छ। ‘अहिले विस्तारै समस्या समाधान भइरहेको उनको भनाइ छ।

ठूलो पानी परेका कारण सडक बिग्रिएको थियो। जसले गर्दा गाडीहरू सिसडोलसम्म जान समस्या भयो। हिजोबाट अलि सहज भइरहेको छ।’ प्रमुख श्रेष्ठले भने।

केहीदिनमा सम्पूर्ण फोहोरको व्यवस्थापन भइसक्ने उनले बताए। सिसडोलमा फोहोर व्यवस्थापमा बेला बेला समस्या आउने गरेको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि पनि काम भइरहेको उनले जानकारी दिए।

यसको दीर्घकालीन समाधानका लागि बन्चरेडाँडामा ल्यान्डफिल साइट बनिरहेको छ। दशैंसम्म बन्चरेडाँडामा ल्यान्डफिल साइट बन्नसक्ने अवस्था समेत रहेको वातावरण विभागले जनाएको छ।

फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएर छलफल गरेको थियो।

सरोकारवाला निकायसँगको छलफलमा प्रधानमन्त्री कार्यालयले बन्चरेडाँडाको ल्यान्डफिल साइटबारे चासो राखेको थियो। उक्त ठाउँमा दशैं अगाडि नै साइट निर्माण कार्य सकेर फोहोर व्यवस्थापन थाल्न निर्देशन दिइएको थियो।

तर, विविध कारणले दशैं अगाडि साइट निर्माणको काम नसकिने प्रमुख श्रेष्ठले स्पष्ट पारे।


प्रकाशित मिति : २०७८ श्रावण ५, मंगलवार

धेरै पढिएको

ताजा समाचार