पार्टी एकताका लागि आत्मालोचना गर्न तयार : वरिष्ठ नेता नेपाल


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकताका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

बुधबार आफ्नो समूहको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताको विकल्प नरहेको भन्दै आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका हुन् ।

बैठकमा नेता नेपालले सर्वोच्च अदालतको आदेशपछि आफ्नो तर्फबाट भएका गल्ती कमजोरीप्रति आत्मालोचना गर्न पनि तयार रहेको बताएका थिए ।

नेपाल समूहको बुधबारको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका युवाहरुले गरिरहेको एकताविरोधी काम तत्काल रोक्नुपर्ने निष्कर्ष निकालेको थियो ।

एमालेको युवा संघले नेता नेपालविरुद्ध चर्को नाराबाजी गर्दै पुत्लादहनसम्मको प्रदर्शन गरिरहेका छ । पार्टी एकताका लागि १० बुँदे भइसकेको र वार्ताको वातावरण बनिरहेको अवस्थामा यस्ता गतिविधि रोकिनुपर्नेमा नेपाल समूहको जोड छ ।

यस्ता गतिविधिले पार्टी एकताको वातावरण भाँडिने बैठकको निष्कर्ष छ । आजको बैठकमा यसअघि नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल अनुपस्थित रहेका थिए । बैठक सकिएलगत्तै वरिष्ठ नेता नेपाल रावललाई भेट्न उनकै निवास टोखा पुगेका थिए ।


प्रकाशित मिति : २०७८ श्रावण ७, बिहीबार

धेरै पढिएको

ताजा समाचार