नेकपा एमालेका अध्यक्ष केपी ओली पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएका छन् ।
बुधबारको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपालले दोस्रो अध्यक्ष मागेमा एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका हुन् ।
‘दही मथेर घिउ निस्किन्छ भने माधव नेपालजीलाई दोस्रो अध्यक्ष दिन म तयार छु,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै अध्यक्ष ओलीनिकट पोलिटब्युरो सदस्य एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले भने, पार्टी एकताका लागि अध्यक्षज्यूले अधिक लचकता देखाउनुभएको छ ।’
आफू जति लचिलो भए पनि नेपाल पक्षले एकताप्रति इच्छा नदेखाएको र अनेक बहाना खोजेको ओलीको भनाइ थियो । कांग्रेस सभापति देउवालाई विश्वासको मत दिएर नेपालले धोका दिएपनि एकताका लागि आफू लचिलो बनेको ओलीले बताएका थिए ।
१० बुँदे सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उललेख गर्दै ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौँ ।’
एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो । पार्टीबाट आफूहरुलाई निकाल्न केन्द्रीय कमिटीमा बहुमत खोजिएको भन्दै ओलीले त्यसो हुन नदिइने बताए ।