त्रिविको एक हजार रोपनीमा अर्कैको रजगज


काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको सयौँ रोपनी जग्गाको चरम दुरुपयोग भइरहेको पाइएको छ। त्रिविले जग्गा सदुपयोग नगर्दा आम्दानी मात्र  गुमाएको छैन, विश्वविद्यालयको शैक्षिक गुणस्तरमा पनि प्रत्यक्ष असर गरेको जानकारहरू बताउँछन्।

विश्वविद्यालयका पदाधिकारीमाथि विभिन्न स्वार्थ समूहको प्रभावमा परेर भौतिक सम्पदा जोगाउन नसकेको आरोप लाग्ने गरेको छ। तर पदाधिकारीहरू यसलाई स्वीकार गर्दैनन्।

उनीहरू दुरुपयोग भएका जग्गा फिर्ता ल्याई विश्वविद्यालयको हितमा प्रयोग गर्ने दाबी गर्छन्। त्रिविको जग्गा २० वटाभन्दा बढी संस्थाले भोगचलन गरिरहेका छन्।  त्रिविसँग तीन हजार ४२ रोपनी जग्गाको लालपुर्जा भए पनि दुई हजार रोपनी मात्र उपभोग गरिरहेको छ। त्यसमध्ये ठूलो क्षेत्रफल प्रयोगविहीन छ।

त्रिवि प्रशासनका अनुसार त्रिविको स्वामित्वमा कीर्तिपुरमा रहेको एक हजार रोपनीभन्दा बढी जग्गा विभिन्न संस्थाले उपभोग गरिरहेका छन्। त्रिविको जग्गा कसले कति प्रयोग गरिरहेको छ भन्ने यकिन विवरण विश्वविद्यालयसँग छैन।

कीर्तिपुरस्थित त्रिविको जमिन सबैभन्दा बढी बागवानी केन्द्रले दुई सय ८१ रोपनी १४ आना जग्गा स्थापनाकालबाटै भोगचलन गरिरहेको छ।
त्रिविको जग्गामा राष्ट्रिय फलफूल विकास केन्द्र, राष्ट्रिय किसान आयोग, राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास केन्द्रका भवन निर्माण भएका छन्।

त्रिविको एक सय १३ रोपनीभन्दा बढी जग्गा ल्याबोरटरी स्कुलले ०५७ सालदेखि उपयोग गर्दै आएको छ। स्कुलले १५ वर्षका लागि सम्झौता गरेको जग्गा सम्झौता अवधि सकिएर जग्गा खाली गर्न पटकपटक ताकेता गर्दा पनि विद्यालयले अटेरी गर्दै आएको विश्वविद्यालयका पदाधिकारी बताउँछन्।

त्रिवि परिसरको बागमती किनारमा २५ रोपनी जग्गा विभिन्न संस्थाले भोगचलन गर्दै आएका छन्। त्रिवि प्राध्यापक संघले ५० रोपनीभन्दा बढी उपयोग गर्दै आएको छ। संघले उक्त जग्गामा भवन निर्माण गरेको छ। नेपाल प्राध्यापक संघले पनि झण्डै ५० रोपनी जग्गामा भवन निर्माण गरेर भाडामा लगाएको छ।

त्रिविको जग्गा भोगचलन गर्न त्रिवि कर्मचारी संघले २० रोपनीभन्दा बढी जग्गामा  कब्जा जमाएको छ। नेपाल नेत्रज्योति संघ विश्वविद्यालयकै १० रोपनी जग्गा निःशुल्क भोगचलन गर्ने अर्को संस्था हो। लायन्स क्लबले २०७२ वैशाख २८ गतेदेखि ३ रोपनी जग्गामा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ।

यस्तै सरकारले त्रिवि परिसरमा ६० रोपनी क्षेत्रफलभित्र गणतन्त्र स्तम्भ निर्माण गर्न स्वीकृति दिएको छ। स्तम्भ नजिकै ६० रोपनी जग्गामा नेफ्रोलोजी (मिर्गौला सम्बन्धी), युरोलोजी (पिसाब प्रणाली) सम्बन्धी रोग तथा अन्य जटिल रोगको अध्ययन, अध्यापन तथा तालिमसहितको विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपर स्पेसियालिटी केन्द्र निर्माण गर्ने तयारी छ।

त्रिवि परिसरमै रेडक्रस भवन, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र भवन निर्माण भएका छन्। आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल रहेको एक सय ६ रोपनीमध्ये ३० रोपनीमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र निर्माण गरिएको हो।

विश्वविद्यालयले खानेपानीबापतको ६ करोड रुपैयाँ महसुल भुक्तानी गर्न नसकेपछि त्रिवि सिनेटको बैठकबाट पास गराएर शिक्षण अस्पतालको एनएक्स टु भवन निर्माणका लागि छुट्याएको २५ रोपनी क्षेत्रफल २०७३ सालमा तत्कालीन उपकुलपति तीर्थ खनियाँले मेलम्ची खानेपानी आयोजनालाई दिएका थिए। जहाँ काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पक्की संरचना बनाइरहेको छ।

त्रिवि प्रशासनको अभिलेखअनुसार राष्ट्रिय खेलकुद परिषद्ले ७० रोपनी जग्गा भोगचलनको सम्झौता गरे पनि सय रोपनीभन्दा बढी ओगटेको छ। कीर्तिपुरको पुरानो फुटबल मैदान मासेर बनाइएकोे क्रिकेट रंगशाला, प्यराफिट लगायतका संरचना भएको जमिन विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय नम्बर १३४७ अनुसार वार्षिक नौ लाख रुपैयाँ भाडा आउने गरी २०८३ सालसम्मका लागि भाडामा दिने सम्झौता गरिएको छ।

नेपाल प्रहरीले झण्डै पाँच रोपनी जग्गा उपयोग गरेको छ। त्रिविको एक सय ७४ रोपनी जग्गा बीपी कोइराला मेमोरियल विज्ञान संग्रहालयले उपभोग गर्दै आएको छ।

२०७१ असोजमा उद्घाटन भएको भवनमा अझै विज्ञान संग्रहालय बसेको छैन। अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बनाइएको छात्रावास भवन काठमाडौँ सेन्टर अफ रिसर्च एन्ड एजुकेसनले उपभोग गरेको छ।

विश्वविद्यालयको जग्गा राधा स्वामी सत्संग व्यास नामको धार्मिक केन्द्रले २०४७ सालदेखि बागमती नदीतर्फको १८ रोपनी जग्गा ओगटेर बसेको छ। संस्थाले १३ रोपनी क्षेत्रफलमा विशाल प्रवचन कक्ष बनाएको छ तर त्रिविले हटाउन सकेको छैन।

त्रिवि परिसरमा विद्यार्थीका लागि निर्माण गरिएको छात्रावासमा अहिले ‘ग’ ब्लकमा ललितकला क्याम्पस र ‘घ’ ब्लकमा कीर्तिपुर आँखा अस्पताल बसेको छ।

त्रिविले आफ्नै जग्गा व्यवस्थापन गरी शिक्षक विद्यार्थीलाई काम गर्न दिन सक्ने भए पनि यसको उपयोग गर्न सकेको छैन। त्रिविले जग्गाको सदुपयोग गरेर प्रयोगमा ल्याउन सके त्रिविको शैक्षिक सुधार गर्न सक्ने विज्ञको बुझाइ छ।

त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङले विश्वविद्यालयले आफ्नो जग्गा सदुयोग गर्न नसक्दा शैक्षिक गुणस्तर सुधारसँगै आम्दानीको स्रोत पनि गुमाइरहेको बताए।

उनले भने, ‘त्रिविले आफ्नो जग्गा सदुपयोग गर्न सकेको छैन। यसलाई आम्दानीको स्रोत बनाउने हो भने शैक्षिक गुणस्तर सुधार गर्न थप टेवा पुग्नेछ। तर राजनीतिक भागबण्डाका आधारमा नियुक्त पदाधिकारीसँग यस्ता योजना हुने कुरै भएन।’

त्रिविमा सपिङ कम्पेक्स, रेस्टुराँ, स्टेसनरी निर्माण गरेर आम्दानीको स्रोत विकास गर्न सकिने उनी बताउँछन्।

उनले तरकारीको बिउबिजन उत्पादनदेखि विभिन्न विषयगत अनुसन्धान ल्याब बनाएर विद्यार्थीलाई काम लगाउन सकिने उनको सुझाव छ।
विद्यार्थीलाई पढ्दै कमाउँदै गर्न जग्गाको उपयोग गर्ने नीति पनि त्रिविसँग छैन। ‘जग्गा उपयोग गर्न विश्वविद्यालय पदाधिकारीसँग योजना चाहिन्छ। तर  राजनीतिक भागबण्डाका आधारमा नियुक्त भएका पदाधिकारीसँग योजना हुने त कुरै भएन।’

उनले प्रशस्त जमिन भएका विदेशी विश्वविद्यालयको उदाहरण दिँदै क्याम्पसले उद्योग स्थापना गरेर सञ्चालन गर्न सक्ने भए पनि यस विषयमा कसैले सोच्नसमेत नसकेको बताए।

‘नियम नबनाई कुनै पनि नीति लागू गर्न सम्भव छैन। विश्वविद्यालयले आफ्नो जमिनमा फलफूलखेतीले चरालाई आकर्षण गर्न सक्छ।’ उनले मानवशास्त्र विभागले फलफूल रोपे पनि पढेलेखेका मुर्खले बिगार्ने गरेको आरोप लगाए।

चेम्जोङले भने, ‘विश्वविद्यालयभित्र हर्टिकल्चर फार्म बनाउन सकिन्छ। पशुविज्ञान अध्ययन संस्थानले पशुपालन गरेर आम्दानी गर्न सक्छ तर गर्दैन। स्पोर्ट्स साइन्स पढाइ हुन्छ तर विद्यार्थीले चौरमा अभ्यास गर्दैनन्।’

नेपाल क्रिकेट संघले त्रिविको जग्गा उपयोग गरेको छ। तर विश्वविद्यालयले विद्यार्थीलाई खेलकुद अध्ययनमा आकर्षित गर्न सकेको छैन।
ठूला विश्वविद्यालयमा विश्वविद्यालय परिसरभित्र विद्यार्थीलाई यातायातको प्रबन्ध हुन्छ। तर त्रिवि परिसरमा यस्तो व्यवस्था छैन।

आम्दानीको स्रोत विकास गर्दै अनुसन्धानमा ध्यान दिनुपर्ने, विदेशी विश्वविद्यालयमा भएको उपकुलपति छनोटको अभ्यासलाई अनुशरण गर्नुपर्ने, राम्रो काम गर्ने पदाधिकारीको समय थप गर्नुपर्ने, विश्वविद्यालय सुधारका लागि योजना बनाएर साधनस्रोतको उपयोग गर्नुपर्ने सुझाव विज्ञको छ।

विश्वविद्यालयको जग्गा अभिलेखीकरणका लागि त्रिविले प्रयास नगरेको होइन। तर लामो समय लगाएर गरिएको अध्ययन प्रतिवेदन दराजमा थन्किएको छ।

विश्वविद्यालयले भौतिक सम्पत्तिको खोज, संकलन तथा समुचित तवरले उपयोग भएनभएको अभिलेखीकरण गर्न त्रिविले समिति गठन गरेको थियो।

त्रिविले गठन गरेको समितिले त्रिविको सीमा अतिक्रमण गरी कब्जा गरेको, नियमित रूपमा भाडा नउठेको, भोगचलनमा रहे पनि पूर्ण स्वामित्वमा नभएको, विश्वविद्यालयको जग्गामा अन्य संस्थाले भौतिक संरचना निर्माण गरी भोगचलन गर्दै आएको प्रतिवेदनमा उल्लेख गरेको थियो।

त्रिवि परिसरमा निर्माण भएका ती संरचनाको स्वामित्व स्पष्ट नभएको, अभिलेख व्यवस्थित नभएकाले यसलाई व्यस्थित गर्न कार्यदलले सुझाव दिएको थियो।

त्रिवि परिसरमा रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय। तस्बिर : हिमाल प्रेस

विश्वविद्यालयका पदाधिकारी पनि विभिन्न संस्थालाई जग्गा दिइएको स्वीकार गर्छन्। संस्थागत रूपमा जग्गा दिँदा सम्झौता गरिएको उनीहरूको भनाइ छ।

त्रिवि रजिस्ट्रार पेशल दाहाल सम्झौता गरेर विभिन्न संस्थालाई दिएको जग्गाबाहेक अन्यत्र जग्गामा तारबार र पर्खाल लगाउने काम भइरहेको बताउँछन्।

उनी भन्छन्, ‘त्रिविको जग्गा उपयोग र संरक्षण गरिरहेका छौँ। यसअघि सम्झौता भएर अरूले उपयोग गरेको जग्गाबाहेक सम्झौता नभई कसैले प्रयोग गरेको भएमा फिर्ता ल्याउने काम गरेका छौँ।’

कति जग्गा फिर्ता लिइयो र कति जग्गा अतिक्रमणमा परेको छ भन्ने विवरण विश्वविद्यालयले उपलब्ध गराउन सकेको छैन। दाहाल भन्छन्, ‘जग्गा संरक्षण नै चासो नदिएको भन्ने होइन। कति अरुले मिचेको जग्गा पनि फिर्ता गरेका छौँ। त्रिविको जग्गा शैक्षिक उनन्नयनमै प्रयोग हुन्छ। दुरुपयोग हुन दिँदैनौँ।


प्रकाशित मिति : २०७९ भाद्र २, बिहीबार

धेरै पढिएको

ताजा समाचार