तेक्वान्दोमा नेपाललाई १ स्वर्ण र ३ रजत


मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १ स्वर्ण र ३ रजत पदक जितेको छ। शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन्।

उनले महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितिन्। उनको समूहमा इन्डोनेसिया, मलेसिया, जापान, भियतनाम, ब्रुनाई, अस्ट्रेलिया र लाओसका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा रेखमायाले ७.७७ अंक ल्याउँदै स्वर्ण जितेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङले जानकारी दिए।

यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईंले रजत जितिन्। मलेसियन खेलाडीले ८.०३ अंक ल्याउँदै स्वर्ण जित्दा सन्दीपाले ७.४० अंकका साथ रजत पदक पक्का गरिन्। यही उमेर समूहको पुरुषतर्फ मोहमद उमर खानले पनि रजत जिते। ७ जनाले प्रतिस्पर्धा गरेको यस समूहमा फाइनल चरणमा ५ खेलाडी छनोट भएका थिए।

मलेसियाका खेलाडीले ७.७७ अंकका साथ स्वर्ण जिते। खानले ७.४९ अंक ल्याएका थिए। यसैगरी पुरुषको ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले पनि रजत पदक पक्का गरेका थिए। ६.०५ अंक ल्याएका मलेसियन खेलाडीले स्वर्ण जिते। च्याम्पियनसिपमा शनिबारदेखि ग्योरोगी सुरु हुने छ।


प्रकाशित मिति : २०७९ भाद्र ५, आईतवार

धेरै पढिएको

ताजा समाचार