भित्रिन्छ रेमिट्यान्स, टुट्छ परिवार


साउन ८ मा चितवन, भरतपुर-१० का ४० वर्षीय कृष्ण आचार्यले धारिलो हतियार प्रहार गरी श्रीमती रुस्माको हत्या गरे। श्रीमतीको हत्यापछि तीनतले घरको छतबाट सडकमा हाम्फालेका उनको उपचारका क्रममा मृत्यु भयो।

वैदेशिक रोजगारीमा ६ वर्ष बिताएका उनी घटनाको दुई महिनाअघि मात्र फर्केका थिए। अनुसन्धानका क्रममा प्रहरीले घटना हुनुमा दुई कारण देख्यो। पहिलो, श्रीमतीको विवाहेतर सम्बन्ध र दोस्रो, कृष्ण आफैँ परस्त्रीसँग सम्बन्धमा थिए। आफ्नो बाटो खुलाउन उनले आपराधिक बाटो समातेका थिए।

चितवन घटनाको एक सातापछि काठमाडौँ तारकेश्वर नगरपालिका-२ मा त्यस्तै घटना भयो। साउन १६ मा एकै परिवारका चार जना घरभित्रै मृत भेटिए। जहाँ दिनेश पाण्डे (४१), उनकी श्रीमती सुनिता (३९), १३ वर्षकी छोरी र आठ वर्षीय छोराको शव वीभत्स अवस्थामा थियो।

वैदेशिक रोजगारीका लागि १२ वर्ष कुवेत बसेका दिनेश केही वर्षअघि मात्र नेपाल फर्किएका थिए। श्रीमती र छोराछोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि दिनेशले आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ। घटनास्थलमा भेटिएको ‘सुसाइड नोट’मा दिनेशले श्रीमतीसँग सम्बन्ध बिग्रिएको खुलाएका थिए। सम्बन्ध बिग्रिनुको कारण थियो- शंका। दिनेशलाई श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको आशंका थियो।

साउन २२ मा महोत्तरीका शंकर सदाले श्रीमती प्रमिलालाई मट्टितेल खन्याएर आगो लगाए। प्रमिलाको शरीरको ७० प्रतिशत भाग जल्यो। खाटमा सुतेकी प्रमिलाको जिउमा आगो लागेपछि सोही आगोको लप्काले खाटमुनि सुतेकी उनकी आमा पनि जल्न पुगिन्। उनको शरीर १० प्रतिशत जलेको थियो।

४० वर्षीय शंकर एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए। आफूले पठाएको पैसा श्रीमतीले हिनामिना गरेको र अन्य पुरुषसँग सम्बन्ध राखेको आरोप लगाउँदै उनले श्रीमतीमाथि आगो झोसेका हुन्। सदा प्रहरी नियन्त्रणमा छन्। प्रमिलाले आफू निर्दोष रहेको बताउँदै आएकी छन्।

साउन २५ मा बझाङमा एकै घरका तीन जना रूखमा झुन्डिएको अवस्थामा फेला परे, २२ वर्षीया गीता, पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा।

गीताका श्रीमान् पुष्कर पार्की भारत, पिथौरागढमा मजदुरी गर्थे। २०७८ सालमा पुष्कर घर नभएका बेला गीता जबर्जस्ती करणीकी सिकार भइन्। उनीमाथि यौनहिंसा गर्ने झलक नेपालीलाई गाउँलेले समातेर प्रहरीको जिम्मा लगाए।

बलात्कारको घटनापछि पुष्करले श्रीमतीको चरित्रमा शंका गर्न थाले। उनीहरूको सम्बन्धमा धाँजा फाट्यो।

घटनाको केही दिनअघि पुष्करले पिथौरागढबाट गीतालाई फोन गरेका थिए। मोबाइल व्यस्त भएपछि उनले श्रीमतीको चरित्रमाथि थप प्रश्न उठाए। भारतबाट बझाङ फर्किए। श्रीमतीसँग झगडा गरे। त्यसको भोलिपल्टै गीता र छोराछोरी मृत भेटिए।

गीताको माइती पक्षले पुष्करविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ।

असुरक्षाको भावना 

वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या बढेसँगै श्रीमतीको चरित्रमा शंका गर्ने, पठाएको पैसा हिनामिनाको आरोप लगाउँदै शारीरिक, मानसिक, आर्थिक, यौनजन्य र भावनात्मक हिंसाका घटना पनि बढिरहेका छन्।

कोरोना महामारीको समय बाहेक वैदेशिक रोजगारीका लागि जाने नेपालीका संख्या हरेक वर्ष बढ्दो छ। गत आव २०७८/७९ मा मात्रै ३ लाख ५४ हजार ६६० जनाले श्रम स्वीकृति लिएका छन्। यसमा ८७ प्रतिशत संख्या पुरुषको छ।

उनीहरूबाट १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। त्यसको अघिल्लो आव २०७७/७८ मा ९ खर्ब ६१ अर्ब पाँच करोड रुपैयाँ मुलुक भित्रिएको थियो।

यसरी ऊर्जाशील युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको मात्रै छैन बाह्य क्षेत्र सन्तुलनमा पनि राखेको छ। तर रेमिट्यान्ससँगै भित्रिएको पारिवारिक विग्रहले सामाजिक व्यवस्थालाई नै खलबल्याउन थालेको छ।

जानकारहरू यस्ता समस्याबारे सोच्न ढिला गर्ने हो भने समस्या विकराल बन्दै जाने बताउँछन्। त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी प्राध्यापक डा. बिन्दु पोखरेल वैदेशिक रोजगारीले भित्र्याएको समस्या समयमै सम्बोधन गर्नुपर्ने बताउँछिन्। ‘रेमिट्यान्समै मख्ख परेर बस्ने अवस्था अब छैन,’ उनी भन्छिन्, ‘सम्बन्धित निकायले यसको निराकरणका लागि तत्काल निर्णय गर्नुपर्छ।’

वैदेशिक रोजगारीमा जाने अधिकांशको उमेर २० देखि ३५ वर्षबीचको छ। जुन विवाहयोग्य र शारीरिक रूपमा ऊर्जाशील उमेर हो। उनीहरूमध्ये धेरैजसो विवाहित हुन्छन्। कोही भने विदेश जाने कमाउने, फर्केर बिहे गर्ने अनि फेरि जाने गर्छन्।

परिपक्क उमेरमा परदेशमा रहँदा र घरमा जवान श्रीमती हुँदा उनीहरूमा एक किसिमको असुरक्षाको भावना उत्पन्न हुन्छ। जसले श्रीमतीमाथि शंका गर्ने वातावरण सिर्जना हुने प्रा. पोखरेल बताउँछिन्। उनी भन्छिन्, ‘शंका बढ्दै जाँदा यसले विकराल रूप लिएको विभिन्न घटनाले नै पुष्टि गर्छ।’

‘क्याटलिस्ट’ बन्यो सामाजिक सञ्जाल

प्रविधिले मानव जीवनलाई जति सजिलो बनाइदिएको छ। त्यतिकै समस्या पनि थपिदिएको छ।  हाम्रो सोच सामाजिक सञ्जालमा जति धेरै साथी त्यति नै ‘पपुलर’ भन्ने छ। जसले गर्दा चिनेका/नचिनेका सबैलाई साथी बनाउने क्रम सामान्य भएको छ।

सामाजिक सञ्जालमा तस्बिर, भिडियो, स्ट्याटस पोस्ट गर्नु आमप्रवृत्ति हो। केहीले त आफूले गर्ने हरेक गतिविधि सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन्। तर त्यसले निम्त्याउने समस्याबाट धेरै मानिस अनभिज्ञ छन्।

हामीले पोस्ट गर्ने गतिविधिले नै आममान्छेको निगरानीमा हामी आफैँ परिरहेका छौँ। जानकारहरूका अनुसार यसबाट महिला झन् बढी प्रभावित छन्।

महिलाले कुनै फोटो राख्यो भने त्यसमा लाइक, कमेन्ट गर्ने मान्छे चिनेकै हुन्छ भन्ने छैन। अपरिचित वा साइनोभन्दा टाढाको व्यक्तिले श्रीमतीको फोटोमा लाइक र कमेन्ट गर्नेबित्तिकै अधिकांश श्रीमान् झस्किन थाल्छन्।

‘त्यसपछि सामाजिक सञ्जालमार्फत श्रीमतीका हरेक क्रियाकलापमा श्रीमानले निगरानी गर्न थाल्छ,’ पोखरेल भन्छिन्, ‘यसरी सम्बन्धमा शंकाको बिउ रोपिन्छ। शंका बढ्दै गएपछि घरेलु हिंसा, सम्बन्ध विच्छेददेखि हत्यासम्म पुग्ने गरेका उदाहरण छन्।’

विदेशमा रहेका श्रीमान्को शंका बढाउनमा हाम्रो सामाजिक संरचनाको पनि भूमिका छ। श्रीमान् वैदेशिक रोजगारीमा हुँदा श्रीमतीको विवाहेतर सम्बन्धका दुईचार घटनालाई सामान्यीकरण गरेर सबै महिलालाई सोही दृष्टिले हेर्नेको पनि कमी छैन।

‘समाजको महिलाप्रतिको दृष्टिकोणले शंकाको वातारण सिर्जना गर्न मद्दत गरेको छ,’ उनले भनिन्, ‘कुनै महिला कुनै पुरुषसँग बोलिरहेकी छे भने पनि समाजले त्यसलाई बढाइँचढाइ गरी विदेशमा रहेका श्रीमान्सम्म कुरा पुर्‍याइदिन्छ। यसले शंकामा थप मलजल गर्छ।’

महिला ‘इजी टार्गेट’ 

वैदेशिक रोजगारीले आन्तरिक बसाइँसराइ पनि बढाएको छ। ५० को दशकमा माओवादीको सशस्त्र युद्धका कारण सहरी क्षेत्रमा सर्नेको लर्को लाग्थ्यो। अहिले त्यो अवस्था फेरिएको छ। तर वैदेशिक रोजगारीले नगदको प्रवाह बढेपछि गाउँबाट ससाना बजारदेखि ठूला सहरमा अस्थायी बसाइँ सर्नेको संख्या दिनहुँ बढ्दो छ।

पछिल्लो समय श्रीमान् विदेश गएपछि श्रीमती छोराछोरी पढाउने निहुँमा गाउँबाट बजार वा सहर झरिरहेका प्रशस्त उदाहरण छन्। यसरी महिला एक्लिनेबित्तिकै उसलाई ‘सिकार’ बनाउन खोज्नेहरू पनि उत्तिकै हुन्छन्।

‘एक्लो महिला हुनेबित्तिकै गलत नियत भएका पुरुषको नजर उसमाथि बढ्छ,’ प्रा.डा. पोखरेल भन्छिन्, ‘उसलाई फसाएर आर्थिक होस् वा शारीरिक लाभ लिन खोज्नेहरू झ्याम्मिन थाल्छन्।’

प्रा. पोखरेलका अनुसार महिलालाई जालमा फसाउन गलत नियत भएका पुरुषले विभिन्न षड्यन्त्र रच्छन्। ‘सुरुमा ससाना काममा सहयोग गर्ने, विश्वास जित्ने गर्छन्,’ उनी भन्छिन्, ‘विश्वासमा लिएपछि सम्बन्ध दोस्रो तहमा जान्छ। अनि सुरु हुन्छ शरीर र सम्पत्तिमा कब्जा गर्ने योजना, जोबारे प्रायः महिला अनभिज्ञ हुन्छन्।’

खराब नियत भएकाहरूका लागि श्रीमान् वैदेशिक रोजगारी भएका महिला ‘इजी टार्गेट’ भएको उनको भनाइ छ।

त्यसो त श्रीमान् वैदेशिक रोजगारीमा गएका र सहरबजारमा एक्लै भएका हरेक महिला यसरी सजिलै प्रलोभनमा पर्छन् भन्ने होइन। तर एकाध घटनालाई लिएर समाजले ठूलो रूप दिन्छ।

नेपाली समाजमा रहेको पितृसत्तात्मक सोचका कारण पनि वैदेशिक रोजगारीमा रहेको परिवारमा यस्ता हिंसाका घटना बढेका छन्। हाम्रो समाज अहिले पनि महिलाप्रति असहिष्णु छ। श्रीमतीले सतीत्वमा बस्नुपर्ने, श्रीमान्चाहिँ अन्य महिलासँग सम्बन्धमा रहन सक्छ भन्ने किसिमका गलत सोच अहिले पनि विद्यमान छ।

महिला घरपरिवारबाट टाढा हुँदा उसको सुरक्षाको जिम्मेवारी समाज र राज्यले लिनुपर्ने हो। नागरिकको हरेक कामकुरामा राज्य अभिभावक बन्नुपर्ने हो। तर त्यस्तो भएको छैन। दोषीलाईसमेत निकै कम सजाए छ। परिणाम यस्ता घटनाको फेहरेस्ती बढिरहेकै छ। प्रा. पोखरेल भन्छिन्, ‘यी विविध घटना हेरेर अब परिवार र सम्बन्धित व्यक्ति नै सचेत हुनुपर्छ।’

मानसिक विचलनको आगो

पछिल्लो समय हत्यापछि आत्महत्याका घटना बढेका छन्। आफ्नै परिवार सिध्याउने गरी मान्छेहरू अपराधतिर उन्मुख भएका छन्। यसमध्ये सबैभन्दा बढी समस्या वैदेशिक रोजगारीमा गएकाहरूको परिवारमा देखिएको छ।

आत्महत्याका ८० देखि ९५ प्रतिशत घटनाको मुख्य कारण मानसिक स्वास्थ्य रहेको तथ्यांक छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक रोग विभागका प्रमुख प्रा.डा. रवि शाक्य भन्छन्, ‘आत्महत्या भन्नेबित्तिकै त्यो मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या हो। जो सामान्य होइन जटिल समस्या हो। त्यसमाथि हत्यापछि आत्महत्या त चरम मनोवैज्ञानिक अवसाद हो।’

डिप्रेसनका रोगीले आत्महत्याको बाटो रोज्ने उनी बताउँछन्। प्रा.डा. शाक्यले थपे, ‘निराशाले घेरिएको बिरामीले मृत्युलाई नै मुक्तिको बाटो देख्छन्। आत्महत्या गरे हरेक समस्याबाट मुक्ति पाउने भन्ने ठान्छन्। जुन गलत हो।’

वैदेशिक रोजगारीमा गएका श्रीमान्ले नेपालमा रहेकी श्रीमतीको विवाहेतर सम्बन्ध रहेको शंका गर्नुको पछाडि ठूलो भूमिका यस विषयलाई बढाइँचढाइ गर्नेहरूको रहेको उनको भनाइ छ। जसमा आममान्छेदेखि मिडियासम्म पर्ने गरेका छन्। सामाजिक सञ्जालमा भाइरल हुने मिम्सदेखि ट्रक साहित्यमा समेत महिलालाई होच्याउने गरी सायरी लेखिएका हुन्छन्।

‘विवाहेतर सम्बन्धका केही केस होलान् तर श्रीमान् विदेश जाँदैमा सबै महिलाले परपुरुषसँग सम्बन्ध राख्छन् भन्ने हुँदैन,’ उनले भने, ‘तर समाजमा भएका केही घटनालाई भयंकर रूपमा प्रचारप्रसार गरेर सबैमा सो कुरा लागू हुने गरी चित्रण गरिएको छ।’

प्रा.डा. शाक्यका अनुसार आफू परदेशमा दुःख, परिश्रम गरिरहेको र श्रीमती आफूले पठाएको पैसाले मौजमस्ती गरिरहेको छ भन्ने तुच्छ सोच केहीमा देखिन्छ। अकाट्य भ्रमको समस्याले ग्रस्त कोही व्यक्ति वैदेशिक रोजगारीमा छ भने उसले नेपालमा रहेकी श्रीमतीमाथि शंका गर्छ। भ्रमले उसलाई शंकालु बनाउँछ। सम्झाउँदा पनि मान्दैनन्। त्यही कारण हत्यापछि आत्महत्याका घटना हुने गर्ने डा. शाक्यको भनाइ छ।

दुर्व्यसनका कारण पनि हत्याहिंसाका घटना निम्तिने गर्छन। जाँडरक्सी खाने बानीलाई हाम्रो समाजमा सामान्य रूपमा लिइन्छ। ‘रक्सी खान्छ छाड्न मन लागे छाडिहाल्छ नि’ भन्दै बेवास्ता गरिन्छ। मात्रा बढ्दै गएपछि मान्छे डिप्रेसनसम्म पुग्न सक्छ। उसलाई सत्यअसत्य छुट्याउन समस्या हुन्छ। मानसिक रोगी बन्न पुग्छ।

त्यस दुर्व्यसनले भविष्यमा ल्याउन सक्ने समस्यालाई बेवास्ता गर्दा पनि हत्याहिंसाका घटना हुने गरेको जानकारहरू बताउँछन्।‘एल्कोहोलिज्म’ पनि एक किसिमको मानसिक रोग भएको प्रा.डा. शाक्यले बताए। ‘यो लत हो, जो मानसिक रोग हो,’ उनले भने, ‘जाँडरक्सी खाने मान्छेलाई पनि उपचारको आवश्यकता हुन्छ।’

हिजोआज नेपालमा गाँजा प्रवद्र्धन गर्नुपर्छ भन्ने आवाज उठिरहेकोमा मनोचिकित्सक शाक्य खुसी छैनन्। ‘मान्छेलाई शंकालु बनाउने धेरै कारणमध्ये यो पनि एउटा हो,’ उनले भने, ‘यसले पनि भ्रम पैदा गर्ने गर्छ। जसले गर्दा गाँजा खाने मानिस भेटेजतिका लागि मारिदिऊँ र आफू पनि मरूँ भन्ने ठान्ने गर्छ।’

मानसिक स्वास्थ्यसम्बन्धी समस्याबारे समयमै सचेत हुनुपर्ने उनले बताए। ‘सामान्य समयमा गरिरहेको व्यवहारभन्दा कसैले केही अनौठो व्यवहार देखाउँछ, पहिलेभन्दा फरक व्यवहार गर्छ भने ऊ मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘समयमै सचेत र सजग हुनुपर्छ।’

मार्नुभन्दा छुट्टिनु बेस

कानुनमा शारीरिक, मानसिक, आर्थिक, यौनजन्य र भावनात्मक यातना गरी पाँच किसिमका यातनाबारे उल्लेख छ। ‘वैदेशिक रोजगारीमा गएको श्रीमान्ले पैसा पठाएन भने आर्थिक यातना भयो,’ अधिवक्ता सबिन श्रेष्ठले भने, ‘शंका गर्नु मानसिक यातना हो भने भावनात्मक सहयोग नगर्नु भावनात्मक यातना हो।’

श्रीमान्‌ले शंका घरेलु हिंसा गरिरहेको छ भने ऊविरुद्ध मुद्दा हाल्न सकिने उनको भनाइ छ। ‘त्यसका लागि न्याय लिन जान सकिन्छ,’ उनले भने, ‘श्रीमान्ले अनावश्यक रूपमा मेरो चरित्रमाथि शंका गर्‍यो भनेर घरेलु हिंसाको केस गर्न सकिन्छ।’

यस्तै आत्महत्या दुरुत्साहनको केस पनि गर्न सकिन्छ। कसैले आत्महत्या गर्न बाध्य बनाएको छ वा त्यो परिस्थिति सिर्जना गरिदिएको छ भने त्यस्तो व्यक्तिलाई कारबाही गर्ने कानुन छ।

वैदेशिक रोजगारीमा रहेका श्रीमान्‌लाई साँच्चै श्रीमतीको विवाहेतर सम्बन्ध छ भन्ने लाग्यो भने सम्बन्धविच्छेदको अधिकार छ। श्रीमतीको परपुरुषसँग सम्बन्ध प्रमाणित गर्दा सम्बन्ध विच्छेद गर्न सकिने श्रेष्ठ बताउँछन्। ‘शंकाका आधारमा मात्र सम्बन्ध विच्छेद गर्न त पाइँदैन,’ उनी भन्छन्, ‘तर, आरोप पुष्टि हुने प्रमाण भए यो उत्तम विकल्प हो।’ जघन्य अपराधमा मुछिएर परिवार नै बिखण्डन गर्नुभन्दा सम्बन्धविच्छेदको बाटो रोज्नुपर्ने अधिवक्ता श्रेष्ठको सुझाव छ।

चितवन घटनामा परस्त्रीलाई भित्र्याउन श्रीमतीको हत्या गरेको श्रेष्ठको अनुमान छ। ‘हाम्रो कानुनले बहुविवाह गर्नै नपाउने, गर्‍यो भने मान्यता नपाउने व्यवस्था गरेको छ,’ उनले भने, ‘पुरुषले अर्को बिहे गर्न कि त श्रीमतीसँग सम्बन्ध विच्छेद हुनुपर्‍यो। कि श्रीमतीको मृत्यु भएको हुनुपर्‍यो।’ अर्को विवाह गर्न श्रीमतीलाई मार्नुभन्दा सम्बन्ध विच्छेदको बाटो रोज्नु उचित हुने अधिवक्ता श्रेष्ठको भनाइ छ।

पछिल्लो समय बढिरहेका घटना कम गर्न ‘फ्यामिली काउन्सिलिङ’ अर्थात् पारिवारिक परामर्शको व्यवस्था गर्नुपर्ने अधिवक्ता श्रेष्ठको सुझाव छ।

‘श्रीमान्-श्रीमतीलाई संँगै राखेर वा छुट्टाछुट्टै पनि परामर्श गर्न सकिन्छ,’ उनी भन्छन्, ‘पारिवारिक परामर्श दिने सेवा केन्द्रको स्थापना गर्नुपर्‍यो। जसलाई समस्या छ उसले परामर्शदातासँग राय लिन सक्छ।’

वैदेशिक रोजगार कल्याणकारी कोषअन्तर्गत यस्तो सुविधा भयो भने रोजगारीबाट फर्किनेबित्तिकै कामदारले सो सुविधा पाउन सक्ने उनको सुझाव छ। ‘परदेशमा एक्लोपन महसुस भयो भने यहाँबाट फोनमार्फत पनि काउन्सिलिङ गर्न सकिने सुविधा हुनुपर्‍यो। यस्ता प्रयासले घटना कम गर्न मद्दत गर्न सक्छन्’, अधिवक्ता श्रेष्ठ भन्छन्।


प्रकाशित मिति : २०७९ भाद्र ९, बिहीबार

धेरै पढिएको

ताजा समाचार