अब सन्दिपलाई कसरी स्वदेश झिकाइन्छ ? प्रहरीसँग छन् यस्ता विकल्प


नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीसम्बन्धी उजुरीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्तरुपमा अनुसन्धान अगाडि बढाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ ।

‘प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगि विस्तृत स्वास्थ्य परीक्षण गराइएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा सन्दिप काठमाडौं र नगरकोटमा बसेको होटलको सीसीटीभी फुटेज पनि संकलन गरेको छ। आज बुधबार डकुमेन्टका कामहरु सकेर जिल्ला अदालत काठमाडौंमा पेश गर्ने र पक्राउ पुर्जी माग्ने प्रहरीको तयारी छ। लामिछाने अहिले सेन्ट लुसियामा छन्। क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न उनी लुसिया गएका थिए ।

यस्ताे छ सन्दिपलाई नेपाल भित्राउने बाटाे

मंगलबारमात्रै  जाहेरी परेको हुनाले हाल घटनाबारे अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता टेकप्रसाद राई बताउँछन् । ‘हिजो जाहेरी परेसँगै अनुसन्धान कार्य सुरु भएको छ । लामिछाने देशमै भएको भए नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्थ्यौ,’ उनले भने, ‘नेपालमा नभएकाले पहिले यताको अनुसन्धानको पाटोमा केन्द्रित छौँ ।’

अनुसन्धान गर्दै जाँदा नेपाल प्रहरीले आरोपितलाई जुन देशमा भएपनि गभर्मेन्ट टु गभर्मेन्ट (जी टु जी) गरेर स्वदेश झिकाउने अवस्था रहन्छ । वा प्रहरीहरुको इन्टर्पोलमा जानकारी गराएर पनि आरोपितलाई संसारको जुन सुकै कुनामा भएपनि नियन्त्रणमा लिन सक्ने उनले बताए।

‘लामिछानेको केसमा हाल अनुसन्धानको काम भइरहेको छ । आवश्यक परेको खण्डमा पक्राउ पुर्जी जारी गरेर नेपाल झिकाउने छौँ,’ उनले भने, ‘पक्राउ पुर्जी अनुसन्धानका क्रममा खुलेका तथ्यका आधारमा जारी गर्नेछाैं ।’

जाहेरीमा १७ वर्षीया नाबालिकामाथि लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगेर काठमाडौं ल्याइ रातको ११:५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लगेको उल्लेख छ । भदौ ६ गते राति अन्दाजी १२:२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेको उजुरीमा भनिएको छ ।


प्रकाशित मिति : २०७९ भाद्र २२, बुधबार

धेरै पढिएको

ताजा समाचार