वन प्राविधिक बन्न चाहने विद्यार्थीको भविष्य कहिलेसम्म अन्यौलमा ?


कुनै पनि विषयको प्राविधिक पढाई आधुनिक शैक्षिक रुपान्तरण तथा रोजगारी सुनिश्चिताको आधार भनेर अभिभावक तथा विद्यार्थीहरुले बुझ्ने गरेका छन् । अबको शिक्षा प्रणालीको रुपान्तरण प्राविधिक धारको पढाईले मात्र शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने कुरामा शैक्षिक क्षेत्र विश्वस्त रहेको पाइन्छ ।

प्लस टु विज्ञान संकाय पढ्दै गर्दा र पढिसकेपछि अभिभावकका भविष्यका सपना र विद्यार्थीका वर्तमान कल्पना एकापसमा समायोजन गर्दै सुनौलो संसारको परिकल्पना बोकिरहेका हुन्छन् । एसइइ लगत्तै अभिभावकहरुले आफ्ना हरेक चिनेजानेका आफन्तसँग सोध्ने पहिलो प्रश्न हुन्छ कि म मेरो बच्चालाई के पढाऊँ ?

धेरैजसोले दिने उत्तर प्राविधिक विषय पढाउनुहोस्, जागिरको चिन्तै हँुदैन, भविष्य सुनिश्चित हुन्छ भन्ने हुन्छ ।  हुन पनि हो, अहिलेको समयमा ४ वटा ‘प’ याने कि पैसा, पढाई, पावर, प्राविधिक ज्ञान नै आफ्नो साथमा नभए आफन्त, साथीभाई वा जो कोही होस्, सबैले साथ छोड्छन् भन्ने कुरा व्यवहारमा भोगिरहेका छौं ।

यो लेखमा एक वन प्राविधिकका तवरले मैले विशेषतः वन विज्ञान शैक्षिक क्षेत्रका प्राविधिक पाटाहरु केलाउने प्रयास गर्दै यस क्षेत्रमा विद्यमान अवस्थामा देखिएका अवसर, समस्या र सोको समाधानका लागि विषय उठान गर्ने जमर्को गरेको छु ।

वन सम्पदा नेपालको प्रमुख नवीकरणीय प्राकृतिक स्रोत हो, जसले देशको पाँच भागको दुई भागभन्दा बढी करिब ४५ प्रतिशत क्षेत्रफल ओगटेको छ । यसको समुचित प्रयोगसँगै दिगो र सन्तुलित रुपमा व्यवस्थापन गर्नका लागि वन प्राविधिक विषय आफैमा प्राकृतिक विज्ञानका क्षेत्रमा अत्यन्त महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो ।

मानव र प्रकृतिसँगको अन्यौन्याश्रित सम्बन्धलाई वैज्ञानिक तवरले सन्तुलित, व्यवस्थित र दिगो व्यवस्थापन गर्नका लागि वन विज्ञानको छुट्टै महत्व छ । वन विज्ञान प्रयोगात्मक तथा प्रयोजनपरक विज्ञान हो । पहिले डाक्टर, ईन्जिनियर, पाइलट बन्ने धेरैको सपन हुन्थ्यो । अव भने वनसँग सम्बन्धित ज्ञान सीपलाई व्यवहारिक रुपमा उतार्ने लक्ष्यका साथ प्लस टु विज्ञान संकाय पढिसकेपछि अधिकांश विज्ञान संकायका विद्यार्थीहरु यसतर्फ पनि आकर्षित भएका छन् ।

यसै क्रममा विगतका तुलनामा वन विज्ञान पढ्ने विद्यार्थीको चाप थेगिनसक्नु रहेको देखिन्छ । उता नेपाली युवाको वैदेशिक रोजगार तिरको आकर्षण बढिरहेको परिप्रेक्ष्यमा वन प्राविधिकहरुको व्यवस्थापनको वकालत पैरवी गर्नेहरुको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ ।

केवल जनशक्ति उत्पादनमा मात्रै ध्यान दिने तर सो जनशक्तिको दक्षता सहितको रोजगारी व्यवस्थापनमा जोड नदिने हो भने जुनसुकै प्राविधिक पढाई पढेर हुनेवाला केही छैन भन्ने कुरा दिनानुदिन शैक्षिक क्षेत्रमा पुष्टी हँुदै गएको छ । यसरी एकातिर प्रयोगात्मक पढाई अनि अर्कातिर सोको शैक्षिक बजारमा समयमै सही व्यवस्थापन नहुँदा जनशक्ति विदेश पलायन भइरहेको छ ।

नेपालीका लागि प्राविधिक शिक्षा चाहे त्यो मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा, कृषि शिक्षा, वन विज्ञान शिक्षादेखि आधारभूत तहमा पढाई हुने सामान्य शिक्षासम्म व्यापार भइरहेको परिप्रेक्ष्य हामी सामु छर्लंग छ । स्नातक तहमा गुणस्तरीयताको कुरासँगै प्रयोगात्मक प्रविधिको सीप, ज्ञान र क्षमता अभिवृद्धिमा जोड दिने कुरामा ध्यान दिएको पाइँदैन ।

अहिले केही वर्षदेखि लोकसेवा आयोगले निकाल्ने विज्ञापनमा गुणात्मक रुपमा प्रतिस्पर्धा बढ्दै जाने, शैक्षिक जनशक्ति बजारमा न्यून प्रतिस्थापन हुँदै जाने, पूर्ण रुपमा प्राविधिक ज्ञान, सीप तथा दक्षता प्रयोग गरी उद्यम विकासको वातावरण नबन्ने, अनि च्याउसरी प्राविधिक विद्यार्थी उत्पादन गर्ने कलेजहरु सम्बन्धन पाउँदै जाने कुरा आफैमा परस्पर विरोधी कार्य हो ।

नेपालको परिप्रेक्ष्यमा कुनै पनि क्षेत्रको करियरको प्रमुख गन्तव्य मापन हो, लोकसेवा आयोगको परीक्षा । तर वन विज्ञान अध्ययन गर्ने विद्यार्थीहरु लगातार ४ वर्षदेखि लोकसेवा आयोगको वन क्षेत्रको शुन्य विज्ञापनबाट निराश छन् । यसबारे नेपाल वन प्राविधिक संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल, प्रगतिशील वन प्राविधिक संघ नेपाल, नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल, जुनियर वन प्राविधिक संघ नेपाल, समाजवादी वन प्राविधिक संघ नेपाल जस्ता वन क्षेत्रमा आबद्ध राष्ट्रिय सञ्जाल तथा संघहरुले ध्यान दिनुपर्ने हो । तर काममा स्पष्ट छैनन् ।

मेरो प्रश्न छ, वन विज्ञान क्षेत्रभित्र आदरणीय अग्रजहरुले स्थापित गर्नुभएको पारिवारिक आत्मीयता, दाजुभाई तथा दिदीबहिनीको परस्पर सम्बन्धप्रति तपाईं हामी सबैले आआफ्नो क्षेत्रबाट उचित भूमिका नखेली टुलुटुलु हेर्ने अवस्था मात्रै आएको हो त ?

वन व्यवस्थापन प्रणालीबारे केवल गोष्ठी, सेमिनारहरुमा बहस चलाउनुका साथसाथै वन प्राविधिकहरुको क्षमता अभिवृद्धि र उचित व्यवस्थापनको वातावरण विकासमा पनि ध्यान दिनु आवश्यक छ कि छैन ? के सरकारी वा निजी वन विज्ञान क्याम्पस विद्यार्थी उत्पादन गर्ने नाफामुलक यन्त्र मात्रै बनेका हुन् ?

प्रयोगात्मक पद्धति विकाससँगै शिक्षण शैली परिवर्तन नै नहुने हो भने प्राविधिक र गैर प्राविधिक पढाई बिचको भिन्नता के त ? प्राविधिक पढाई पढेर पनि अप्रवाधिक क्षेत्रमा काम गरिरहेको जनशक्तिले सो क्षेत्रको विकास कसरी गर्न सक्छ होला ? थुप्रै अनुत्तरित प्रश्नहरु छन् ।

वन विज्ञान मेडिकल क्षेत्रजस्तो  मिराकल हुने क्षेत्र होइन । यो क्षेत्रमा लामो अवधिको लक्ष्य तथा अनुभव अपरिहार्य छ । वन प्राविधिकलाई दिशानिर्देश गर्ने  प्राविधिक नेतृत्व तह नै केवल राजनीतिक मनोवृत्तिमा रुम्मलिरहेको छ । यसरी अल्पकालीन दृष्टिकोणबाट मात्रै निर्देशित हुँदै जाने प्रवृत्तिले वन र वातावरण क्षेत्र निरीह हुँदै गएको छ । राजनीतिकर्मी र वरिष्ठ वन प्राविधिकहरुको जुधाइमा करियर खोज्दै गरेका भोलिका वन क्षेत्रका विकासका हुर्कदै गरेका पालुवाहरुको भविष्य अन्यौलमा पार्नु कत्तिको न्यायोचित होला ?

एकातिर वनको बैज्ञानिक वा दिगो व्यवस्थापनमा  विरोधासापूर्ण वातावरण सिर्जित भइरहने अनि अर्काेतिर प्राविधिक विज्ञताको अवमुल्यन हुने स्थिती सिर्जित भइरहने हो भने यसले प्राविधिक सीप, ज्ञान र दक्षता व्यहारिक तवरले प्रयोग हुन सक्दैन । विषय विज्ञतालाई अलग्याएर वनसँग सम्बन्धित सरोकारवाला निकायहरुमा भइरहको चरम राजनीतिको चापमा आफ्नो सुनौलो भविष्य सोचिरहेका विद्यार्थीको भविष्य संकटमा पर्ने स्थितीको अन्त्य हुन पर्छ कि पर्दैन ?

के छ उपाय ?

विद्यार्थीलाई कसरी व्यावसायिक रुपमा विषयगत उद्यमी बन्नेतिर अग्रसर गराउने प्राविधिक शिक्षा नीति हुन आवश्यक छ । शैक्षिक बजार व्यवस्थापनको विश्लेषणका आधारमा प्राविधिक कलेज वा क्याम्पस सम्वन्धन नीतिलाई कडाईका साथ लागु गर्न सकिन्छ ।

विषयगत क्षेत्रहरुको विकासका लागि सरकारी क्षेत्रसँगै गैरसरकारी क्षेत्र, निजी क्षेत्र तथा सामाजिक संघ संस्थाहरुको स्पष्ट मार्ग चित्र अगाडि आउनुपर्ने देखिन्छ ।

नेपालका हरेक सामुदायिक वनदेखि अन्य साझेदारी, निजी, कबुलियती वनहरुको विकास तथा प्रवद्र्धनका लागि सम्बन्धित पक्षहरुले प्राविधिक विज्ञहरुलाई आफै व्यवस्थापन गर्न सक्ने नीतिलाई अवलम्बन गर्दै जान सकिन्छ । अबको वन संरक्षण तथा व्यवस्थापन बजार केन्द्रीत हुन आवश्यक छ ।

विद्यार्थीहरुको अनुसन्धात्मक खोज र विश्लेषलणलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम प्रभावकारी रुपमा धेरैभन्दा धेरै लागु गर्नेतिर सोच्न सकिन्छ ।  वन व्यवस्थापनको आधुनिकीकरण र उन्नत प्रविधिको प्रर्वद्धन चाहे त्यो वैज्ञानिक वन व्यवस्थापन होस् या दिगो वन व्यवस्थापन, तबमात्र सम्भव छ, जब विषयगत विज्ञताको व्यवस्थापन सम्भव छ । यसका लागि लोसेआबाट वन विज्ञान पढेकाहरुका लागि भर्ना खुलाइनु जरुरी छ ।

वर्तमान अवस्थामा कोरोना कहरका कारण देशभित्रै तथा विदेशमा समेत रोजगारी गुमाउनेको संख्या बढिरहेको छ । यस परिस्थितीमा वन व्यवस्थापन क्षेत्रका उचित विकास तथा प्रवद्र्धनका साथै काठजन्य उद्योगको स्थापना, पर्यापर्यटन क्षेत्रको विकास गर्न सके मात्रै सरकारको राजस्वमा योगदान र नेपाल सरकारको वनमा आधारित रोजगार सन् २०२५ सम्म १२ लाख पुर्याउने लक्ष्य सार्थक हुन सक्नेछ ।

के तपाई हामी माथिको लक्ष्य सार्थकताका लागि आआफ्नो क्षेत्रबाट पहल गरिरहेका छौ त ? वन विकास क्षेत्र तिर आबद्ध हुनु भएका सम्पूर्ण अग्रजहरुलाई उच्च सम्मान सहित एउटा अनुत्तरित प्रश्न !

लेखक वन, वातावरण, पर्यापर्यटन विकासलगायत विषयवस्तुमा कलम चलाउँछन्


प्रकाशित मिति : २०७९ भाद्र २४, शुक्रबार

धेरै पढिएको

ताजा समाचार