संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन


माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संघीयता कार्यान्वयनपछि मुलुकमा नयाँ नयाँ आर्थिक केन्द्र बन्ने प्रक्रियाले तीब्रता लिएको बताउनुभएकाे छ  ।
पुनले संघीताले काठमाडौं केन्द्रित आर्थिक गतिविधि र पूर्वाधार विकासलाई प्रदेश र स्थानीय पालिकासम्म विस्तार गरेको उल्लेख गर्नुभयाे । संघीयताका कारण अन्तरप्रदेशबीचमा प्रतिस्पर्धाको वातावरणसमेत बनेको उहाँको भनाइ थियो । संघीयताको पहिलो पाँच वर्षको अभ्यास विकास पूर्वाधारलाई क्षेत्रीय स्तरमा पुर्‍याउन प्रभावकारी देखिएको पुनले बताउनुभयाे । यद्यपि, केन्द्रको विकृति प्रदेश र स्थानीय तहमा समेत देखिएकामा भने उहाँले चिन्ता व्यक्त गर्नुभयाे ।

भारतमा गुजरातका मुख्यमन्त्रीबाट नरेन्द्र मोदी एकैपटक प्रधानमन्त्री बनेको दृष्टान्त प्रस्तुत गर्दै पुनले संघीयताले नयाँ नेतृत्व दिन सक्ने विश्वास व्यक्त गर्नुभयाे । ‘माथिको विकृति तल लाने होइन । प्रदेशले आफ्नो सामर्थ्य चिन्नुपर्छ’, कान्तिपुर मिडिया ग्रुप र मोरङ व्यापार संघले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा सहभागी पुनले भन्नुभयाे, ‘संघीयताले राजनीतिक, आर्थिक प्रतिस्पर्धाको वातावरण बनेको छ । ७ सय ५३ पालिका आर्थिक केन्द्र पनि हो । मुख्यमन्त्री प्रधानमन्त्रीको उम्मेदवार हो ।’ उहाँले संघको राजनीतिमा रहेका नेता प्रदेशमा र प्रदेशका नेता स्थानीय तहमा गएर निर्वाचन लड्ने विकृति भने रोकिनुपर्ने विचार व्यक्त गर्नुभयाे ।

संघीयताकै कारण कर्णालीको आर्थिक वृद्धिदर माथि गएको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयाे । संघीयताअघि साढे दुई प्रतिशत हाराहारीमा रहेको कर्णाली प्रदेशको आर्थिक विकास साढे ५ देखि ६ प्रतिशत पुगेको उल्लेख गर्नुभयाे । पुनले प्रारम्भिक चरणमा पूर्व क्षेत्रको विराटनगर औद्योगीकरणको हब रहेकामा पछिल्लो समय त्यो वीरगञ्ज हुँदै भैरहवा-बुटवल पुगेको र भविष्यमा नेपालगञ्ज हुँदै धनगढीसम्म विस्तार हुने सम्भावना देखिएको बताउनुभयाे । ‘विराटनगरबाट सुरु भएको औद्योगीकरणको प्रक्रिया सरेर भैरहवा-बुटवल पुगेको छ । अब औद्योगीकरणको प्रक्रिया नेपालगञ्ज हुँदै धनगढीतर्फ सर्न सक्छ । संघीयताका कारण प्रतिस्धर्पाको वातावरण बनेको छ ।’

पुनले नेपालको सीमावर्ती क्षेत्र भारतीय बजारका लागि निकै उपयुक्त रहेको चर्चा गर्नुभयाे । भारततिरको विशाल बजार शिक्षा, स्वास्थ्य, पर्यटन र जलविद्युतको बजार भएकाले त्यसबाट पर्याप्त फाइदा लिनुपर्ने उहाँले बताउनुभयाे ।

पछिल्लो समय झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म धेरै तारे होटल बन्नुले सीमावर्ती क्षेत्र नयाँ आर्थिक हब बन्ने सम्भावना देखिएको उल्लेख गर्नुभयाे । भारतको बिहार र उत्तरप्रदेशका धेरै बिरामी अहिले पनि नेपालका अस्पतालमा उपचार गर्न आउने गरेको भन्दै उहाँले भारतीय बजारलाई हेरेर स्वास्थ्यका संरचना बनाउनुपर्ने बताउनुभयाे । यस्तै, भारतीय विद्यार्थीहरु सीमावर्ती नेपालको शिक्षालयहरुमा उच्च शिक्षाका लागि आकर्षित गर्न सकिने सम्भावना औंल्याउनुभयाे। ‘आँखासम्बन्धी उपचारमा नेपाल धेरै राम्रो छ ।

भारतीयहरु सीमा क्षेत्रमा उपचारमा यहाँ आउनेछन् । सीमा क्षेत्र शिक्षा, स्वास्थ्य र पर्यटन पूर्वाधारका केन्द्र हुन् । काँकडभिट्टादेखि महेन्द्रनगरसम्म पाँच तारे होटलको तीव्र गतिमा विकास भएको छ’, पुनले राष्ट्रिय अर्थतन्त्रको आकारभन्दा ठूलो व्यापार घाटा रहेको तथ्यांक पेस गर्दै कृषिमा आत्मर्निधर हुन जरुरी रहेको औंल्याउनुभयाे । कृषिमा आधुनिकीकरण गरी हाल कृषिमा रहेको ६२ प्रतिशत जनशक्तिलाइ उद्योग र सेवा क्षेत्रमा ल्याउनुपर्ने उहाँको भनाइ थियो । गत आर्थिक वर्षमा ३ अर्ब बराबरको कृषिजन्य उपज नेपालमा आयात भएको भन्दै उहाँले यो लाजमर्दो अवस्था भएको टिप्पणी गर्नुभयाे । फरक प्रसंगमा पुनले निजी क्षेत्र नै आर्थिक विकासको मेरुदण्ड भएको स्पष्ट गर्नुभयाे । ‘निजी क्षेत्रले नै आर्थिक विकासको नेतृत्व हो । निजी क्षेत्रलाई कुनै पनि सरकारले निरुत्साहित गरेको छैन’, उहाँले भन्नुभयाे ।


प्रकाशित मिति : २०७९ आश्विन ८, शनिबार

धेरै पढिएको

ताजा समाचार