अरबी भूमिमा आजबाट फुटबलको महाकुम्भ


विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ आजबाट कतारमा सुरु हुँदै छ । राजधानी दोहा वरिपरि रहेका आठ स्टेडियममा विश्वकपका खेलहरू हुँदै छन् । २००२ मा एसियाका जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपपछि एसियामा हुन लागेको यो दोस्रो विश्वकप हो । मरुभूमिको देश कतारमा २७ लाख मात्रै जनसंख्या छ । जसमा तीन लाख कतारी हुन् भने बाँकी आप्रवासी हुन् । प्राकृतिक तेल र ग्याँसको भण्डार रहेको यस देशले आफ्नो अथाहा सम्पत्तिको बलमा पहिलोपल्ट अरबी भूमिमा विश्व फुटबलको महाकुम्भ कतार विश्वकप आयोजना गर्न लागेको हो ।

यहाँ एक स्टेडियमबाट अर्को स्टेडियमको दूरी झण्डै ४० माइल मात्रै छ । अर्को स्टेडियमसम्म पुग्न जम्मा ५० मिनेटको मात्रै समय लाग्छ । आयोजना अधिकार भएको १२ वर्षमा कतारले यी स्टेडियम तयार पारेको हो । कतारले यसै विश्वकपलाई लक्ष्य गरेर सय बढी होटल खडा गरेको छ । त्यसबाहेक मेट्रो, फ्यान भिलेज, बजार, सपिङ मलहरू बनाएको छ ।

खेलहरू २९ दिनसम्म सञ्चालन हुनेछन् । जसले जुन १९७८ को अर्जेन्टिना विश्वकपपछि यसलाई सानो विश्वकप बनाएको छ । समूह चरणमा एकदिनमा चार खेलसम्म हुने तालिका छ । यस विश्वकपमा अन्तिमपटक ३२ देशहरूले सहभागिता जनाउँदै छन् । चार वर्षपछि अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउनेछन् ।

आयोजक कतार र इक्वेडरबीच अल बयाट स्टेडियममा उद्घाटन खेल भएसँगै विश्वकपको सुरुवात हुनेछ । सोही स्टेडियममा एक भव्य कार्यक्रमबीच उद्घाटन समारोह हुनेछ । जसमा विश्व देशका प्रमुखहरू, सहभागी टोली, खेलाडी, आयोजक, दर्शकलगायत हजारौँको उपस्थिति हुनेछ । कोरियन चर्चित गायन समूह बिटिएसलगायत विश्व चर्चित सेलिब्रेटीहरूले उद्घाटनमा माहोल तताउनेछन् ।

यसैबीच, यो विश्वकप विवादले पनि घेरिएको छ । कतारले विश्वकप आयोजनाको अधिकार पाउँदा नै अर्बौं रुपैयाँ घुस खुवाएको रिपोर्ट सार्वजनिक भएको थियो । विश्वकपमै कहिले छनोट नभएको देशले कसरी विश्वकप आयोजनाको अवसर पायो ? भन्ने प्रश्न अहिले पनि उठ्ने गरेको छ । कतारमा आयोजनाको अधिकार दिन भोट दिएका फिफाका सदस्यहरूमाथि घुस लिएको आरोपसँगै अनुसन्धान पनि भएको छ ।

यस्तै, आप्रवासी कामदारको शोषण तथा अधिकार हननको विषयलाई लिएर कतार विश्वकप विवादमा रह्यो । कतारमा नेपालसहित दक्षिण र पूर्वी एसियाका थुप्रै कामदार रोजगारीका सिलसिलामा पुगेका थिए । स्टेडियम तथा विश्वकपका लागि संरचना निर्माणका कारण हजारौँ कामदारहरूले ज्यान गुमाउनुपरेको रिपोर्ट विभिन्न एजेन्सी र मिडियाहरूमा सार्वजनिक भइसकेका छन् । ४५ डिग्रीभन्दा माथिको तापक्रममा दैनिक १० घण्टा कामदारहरूलाई काममा लगाइन्थ्यो । हप्तामा ६ दिन त्यसरी काम गरेबापत पारिश्रमिक भने एकदमै कम पाउँथे । उक्त आलोचनापछि कतारले न्यूनतम पारिश्रमिकसम्बन्धी नियमसमेत लागू गरेको थियो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि उद्घाटन समारोहका अघि शनिबार यी विवादित विषयहरूमा बोल्नुभएको छ । उहाँले कतारमा सबैलाई स्वागत गर्दै आप्रवासी अधिकारका बारेमा कतारको उच्च पदस्थ अधिकारीसँग पटक पटक छलफल गरेको बताउनुभयो ।

‘म आज अरबलाई महसुस गरिरहेको छु । म अफ्रिकालाई महसुस गरिरहेको छु । म आप्रवासी कामदारलाई महसुस गरिरहेको छु । म समलिंगीलाई महसुस गरिरहेको छु,’ उहाँले उद्घाटन दिन अघिको पत्रकार सम्मेलनमा भन्नुभयो, ‘मेरो परिवारमा पनि आप्रवासी कामदार थिए । मैले फिफा अध्यक्ष बनेलगत्तै कतार भ्रमण गरेको थिएँ । त्यसबेला मैले अवस्था ठिक नरहेको बुझें, र सुधार्न भनेको थिएँ । म कतारी होइन, अरब होइन, समलिंगी होइन, अप्रवासी कामदार होइन । तर, मैले महसुस गरेको छु ।’

विश्वकपको दौडमा कहाँ अड्किरहेको छ नेपाल ?
मरुभूमिको देश कतारले आयोजना गर्न लागेको विश्वकपमा सारा विश्वको ध्यान छ । कतार रंगिएको छ । विश्व फुटबलका स्टारहरू कतार पुगिसकेका छन् । अफिसियल, राष्ट्रप्रमुखहरू पनि कतार पुगेका छन् । नेपालबाट पनि अफिसियल, पत्रकार, दर्शकहरू विश्वकपको लुप्त उठाउन कतार पुगिसकेका छन् । तर, नेपाली खेलाडीका लागि भने विश्वकप सधैँ सपना मात्रै बन्ने गरेको छ । सन् १९८२ बाट नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो । त्यसको चार वर्षपछि नेपालले पहिलोपल्ट विश्वकप छनोट पनि खेलेको थियो । हालसम्म पनि नेपाल त्यही छनोटमै रोकिएको छ । छनोट चरणको पहिलो खुड्किलो नै नेपालका लागि ठूलो बाधक बन्दै आएको छ । सन् १९८६ को विश्वकप छनोटमा नेपाल दक्षिण कोरिया र मलेसियाको समूहमा थियो । त्यसमध्ये काठमाडौंमा भएको खेलमा नेपालले मलेसियालाई गोलरहित बराबरीमा रोक्यो । त्यस बाहेकका नतिजा नेपाली पक्षमा थिएनन् ।

सन् १९९० को विश्वकप छनोटमा पनि नेपाल तिनै देशसँगै सिंगापुर नेपालको समूहमा थियो । नेपाल सबै खेलमा पराजित हुँदै छनोटमै रोकियो । नेपालले सन् १९९४ को विश्वकप छनोट खेलेन । त्यसको चार वर्षपछि सन् १९९८ को विश्वकप छनोटमा भने नेपालले मकाउलाई एक-एकको बराबरीमा रोकेको थियो । त्यही विश्वकपमा हरि खड्काले नेपालका तर्फबाट गोल गर्नुभएको थियो । मकाउविरुद्धको अर्को खेलमा पनि नेपालका तर्फबाट दीपक अमात्यले गोल गर्दै उक्त विश्वकप छनोट यादगार बनाउनुभयो ।

सन् २००२ को विश्वकप छनोटमा नेपालको समूहमा काजकिस्तान, इराक र मकाउ थिए । बग्दादमा भएको पहिलो लेगमा नेपालले मकाउलाई चार-एकले हराउँदै सनसनी मच्चायो । अझ अल्माटीमा भएको दोस्रो लेगमा मकाउविरुद्ध नै नेपालले ६-१ को नतिजा निकाल्यो । त्यस छनोटका ६ खेलमा नेपालले १३ गोल गरेको थियो । जसमध्ये निराजन रायमाझीले हृयाट्रिकसहित सात गोल गर्नुभएको थियो ।
नेपालले सन् २००६ को विश्वकप छनोट खेलेन । सन् २०१० को विश्वकप छनोट फरक ढाँचामा थियो । त्यसमा पनि नतिजा सुखद रहेन । सन् २०१४ को विश्वकप छनोटमा नेपालले पहिलो खेलमा टिमोर लिस्टेसँगका दुवै खेलमा जित हात पार्‍यो । त्यसपछि जोर्डनविरुद्धको पहिलो खेल गुमाए पनि दोस्रो खेल बराबरीमा रोक्यो ।

सन् २०१८ को विश्वकप छनोटमा नेपालले पहिलो खेल भारतविरुद्ध खेल्यो । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा नेपालले भारतलाई बराबरीमा रोक्यो । कतार विश्वकपका लागि छनोटमा भने नेपालले वरीयताका आधारमा सिधै दोस्रो चरणमा प्रवेश पाएको थियो । जसमा नेपालले ६ खेल खेल्यो, त्यसमध्ये दुई खेलमा नेपाल विजयी रहृयो । नेपाल कुवेत र अष्ट्रेलियासँग पराजित हुँदा नेपालले चाइनिज ताइपेईविरुद्धको दुवै खेलमा भने जित हात पारेको थियो ।

नेपालले अहिलेको लक्ष्य नै दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप जित्ने हो । अघिल्लो वर्ष भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलोपल्ट फाइनलमा पुगेको थियो । त्यसबाहेक विश्वकप खेल्ने सपना अहिले नेपालका लागि धेरै टाढा रहेको खेल विश्लेषक सञ्जीव मिश्र बताउनुहुन्छ ।

‘हामीले पनि विश्वकपमा सहभागिता जनाउन नसक्ने होइन तर त्यसका लागि फुटबल संस्कार बदल्नुपर्छ र राज्यले प्रशस्त लगानी गर्नुपर्छ,’ मिश्रले भन्नुभयो, ‘दीर्घकालीन योजनासहित अगाडि बढ्नुपर्छ । खेल्नका लागि पर्याप्त भौतिक पूर्वाधार निर्माण गर्ने, फुटबललाई पूर्ण व्यावसायिक बनाउने, गाउँ-गाउँसम्म फुटबल संस्कार स्थापना गर्ने, खेलेरै सहज र सम्मानजनक जीवनयापन सम्भव गराउने, नयाँ पुस्तालाई बढीभन्दा बढी फुटबलप्रति आकर्षित गर्ने काम सुरु गर्नुपर्छ ।’

फिफाले सन् २०२६ को अर्को संस्करणदेखि विश्वकपमा ३२ देशको साटो ४८ देशलाई खेलाउन लागेको र आगामी संस्करणमा संख्या अझै बढाएर ६४ सम्म पुर्‍याउँदा नेपालले अझै चाँडै विश्वकप खेल्न सक्ने मिश्रको विश्वास छ । त्यसका लागि राज्यले पूर्वाधार निर्माणमा विशेष योजना ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।


प्रकाशित मिति : २०७९ मंसिर ४, आईतवार

धेरै पढिएको

ताजा समाचार