उद्घाटन खेलमा कतारलाई हराउँदै इक्वेडरको शान्दार सुरुवात


आइतबारबाट कतारमा सुरु भएको फिफा विश्वकपमा दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विजयी सुरुआत गरेको छ । अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरे । खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए ।

त्यसपछि खेलको ३२ औं मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २–० को जित दिलाए । विश्वकपमा भ्यालेन्सियाको यो पाँचौं गोल हो । भ्यालेन्सिया विश्वकपमा इक्वेडरका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

त्यसबाहेक दुबै टोलीले दोस्रो हाफमा गोलको अवसर पाएका थिए । तर, दुबै टोलीले सदुपयोग गर्न सकेनन् । यस जितसँगै समूह ए मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ । कतार विश्वकपको उद्घाटन खेलमा हार व्यहोर्ने पहिलो आयोजक राष्ट्र बनेको छ । एजेन्सी


प्रकाशित मिति : २०७९ मंसिर ५, सोमबार

धेरै पढिएको

ताजा समाचार