नयाँ सरकार गठनमा दलहरु सक्रिय, कसले मार्ला बाजी ?


काठमाडौं(जस)–नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सो पार्टीको पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन र अन्य सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले दिनुभएको जानकारीअनुसार यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । समीक्षामा अपेक्षा गरेअनुसारको नतिजा हासिल हुन नसकेका भन्ने सन्दर्भमा गम्भीर ढङ्गले विषयवस्तु उठेको छ ।
तर, समग्रमा भने सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि मिहिन तरिकाले समीक्षा गर्ने निर्णय भएको उनले जानकारी दिए । उपाध्यक्ष महराका अनुसार हाल कायम रहेको गबठन्धनलाई पनि कायम राख्दै अन्य विकल्पमा पनि छलफल गर्न खुला रहेकामा जोड दिइएको छ । उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन छाड्ने भन्ने होइन, तर सरकार गठनका सम्बन्धमा भने सबै पक्षसँग खुलारूपमा छलफल गर्छौँ ।’ तर उनले गठबन्धन छाड्ने वा तोड्ने भन्ने विषयमा कुनै धारणा नआएको बताए ।
माओवादीका अर्का नेता मातृकाप्रसाद यादवले भने प्रारम्भिकरूपमा छलफल सुरु भएको र नेताहरूले आ–आफ्नो धारणा राख्ने काम भएको जानकारी दिए । उनले निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआएको भन्नेमा भने सबैको एकमत रहेको बताए । समग्र निर्वाचनको अवस्थाका बारेमा छलफल भएको उल्लेख गर्दै उनले गठबन्धन कायमै रहेको र त्यसमा हाल कुनै थप निर्णय नभएको बताए ।
यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रतिनिधिसभातर्फ १७ स्थानमा जित हासिल गरेको छ भने प्रदेशसभामा ५३ स्थानमा विजयी भएको छ । दोलखामा भने मतगणना जारी छ । त्यहाँ सत्ता गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गङ्गा कार्की अग्रस्थानमा छन् । बैठक आइतबार पुनः २ बजे बस्नेछ ।
अध्यक्ष नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा दुवै नेताले प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका थिए । भेटमा निर्वाचनको समीक्षासमेत भएको बताइएको छ । यसका साथै वर्तमान सत्ता गठवन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठवन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकरात्मक छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।
भारतीय राजदूतले दिए प्रधानमन्त्री देउवालाई बधाई
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वधाई दिएका छन् । शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गराएको तथा आफूले पनि चुनाव जितेको भन्दै राजदूत श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएका हुन् । भेटमा द्विपक्षीय हित र सहयोग आदान प्रदानको विषयमा पनि छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ । राजदूत श्रीवास्तवले यसअघि मंसिर १० गते प्रधानमन्त्री देउवालाई भेटेका थिए । मतगणना जारी रहेकै बेला उनले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेपछि आलोचना भएको थियो ।


प्रकाशित मिति : २०७९ मंसिर १८, आईतवार

धेरै पढिएको

ताजा समाचार