नयाँ सरकारबारे सत्ता गठबन्धनको बैठक आज


तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी
कांग्रेस प्रवक्ता महत र जनमत अध्यक्ष राउतबीच भेटवार्ता
एमालेसँगको सहकार्य चुनावसँगै सकियो : उपेन्द्र यादव

काठमाडौं(जस)–प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आए लगत्तै सोमबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा छ । चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् ।
बैठकमा चुनावको परिणामको समीक्षा र आगामी सरकार निर्माणलगायत विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिएका छन् । कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीले पनि आंशिकरुपमा गठबन्धन गरेको थियो भने चुनावपछि सरकार निर्माण भने जनमत पार्टी समेत सामेल हुने भएको छ ।
तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी
नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सोमबारको बैठकमा विशेषगरी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रारम्भिकरूपमा समीक्षा गरिएको जानकारी दिए ।
नयाँ सरकार गठनका सन्दर्भमा कुनै विषय नै प्रवेश नगरेको उल्लेख गर्दै उनले सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा छलफल गरिने बताए । महासचिव गुरुङका अनुसार गठबन्धनको बैठक सोमबारका लागि बोलाइएको छ । उनेल भने, ‘गठबन्धनमा विमति पैदा भएको अवस्था पनि होइन, तोड्नुपर्छ वा फोड्न्पर्छ भन्ने कुरा पनि होइन । सरकार गठनको विकल्पमा उल्लेखनीय रूपमा विषय प्रवेश गरेको छैन । हामी विशेषगरी निर्वाचनको समीक्षाको पाटोमा केन्द्रीत छौँ ।’
बैठकले निर्वाचनसँग सम्बन्धित सबै पक्षलाई आभार प्रकट गरेको जानकारी दिए । उनले शनिबार र सोमबारको बैठकमा निर्वाचनका सन्दर्भमा हाम्रा आफ्ना के कस्ता सीमा र के कस्ता कमी कमजोरी के के भए त्यसलाई सुधार गर्दै लगेर पार्टीलाई सशक्त बनाएर जाने विषयमा महत्वपूर्ण छलफल भएको बताए । सरकार गठनको सन्दर्भमा गठबन्धन घटकका बीचमा कुराकानी हुने जानकारी दिँदै उनले पार्टीभित्र त्यस सम्बन्धमा कुनै छलफल नै नभएको बताए । हामी अहिले गठबन्धनमा छौँ । गठबन्धनको बैठक बस्नुपर्छ । निर्वाचनसँग जोडिएका सीमा र कमीकमजोरी के के भएका छन् । त्यसमा छलफल गर्नुपर्छ भन्ने भएको छ’, उनले भने ।
महासचिव गुरुङले भने, ‘गठबन्धनका घटकहरूबीच कुराकानी हुन्छ । गठबन्धनकै प्रक्रियाबाट निर्वाचन भएकाले गठबन्धनको बैठक बस्नु पर्छ । भोलि गठबन्धनको आयोजना हुने भएको छ । गठबन्धनबाटै सरकार गठनको पहिलो प्रयास गरिने छ ।’ उनले नेकपा एमालेसँग गठबन्धनको विकल्पबारेमा कुनै छलफल नभएको बताएका छन् । गुरुङले सोमबार गठबन्धनको बैठक आयोजना हुने र गठबन्धनको चुनावी समीक्षा गरिने बताए । सोमबारको बैठकमा पदाधिकारीहरूले मुलभूत रूपमा निर्वाचनबाट कतिपय सन्दर्भमा अपेक्षाकृत परिणाम नआए पनि मुलभूत रूपमा गठबन्धनको परिणाम ठीक भएको औंल्याएका थिए । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले यसअघि सत्ता समीकरणमा अन्य विकल्प सोच्न सकिने बताएका थिए । उनले सरकारको नेतृत्वमा माओवादीको दावी स्वभाविक रहेको समेत बताएका छन् ।
कांग्रेस प्रवक्ता महत र जनमत अध्यक्ष राउतबीच भेटवार्ता
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । बाँसबारीस्थित प्रवक्ता महतको निवासमा भएको भेटमा निर्वाचित भएका रावतलाई बधाई ज्ञापन गरी समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका रावतसँग ठूला दलका शीर्ष नेताहरूले भेट्ने क्रम बाक्लिएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम करिब आइसक्दा भएको सो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।राउतले यसअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरिसकेका छन् ।
एमालेसँगको सहकार्य चुनावसँगै सकियो : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य निर्वाचनपछि सकिएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै यादवले तत्कालीन हिसावले गरिएका सहकार्य चुनाव सकिएसँगै अन्त्य भएको बताएका छन् । ‘हामीले तत्कालका लागि केही सिटमा तालमेल गरेका हौं । हाम्रो मोर्चाबन्दी र तालमेल होइन । हामीले केही सिटमा सहयोग ग¥यौं, उहाँहरूले केहीमा गर्नुभयो । त्यो चुनावसँगै सकिया । अब नयाँ धरातलमा नयाँ ढंगले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’
यादवले आफ्नो पार्टी निर्णायक नभएको र अब आफूहरूले उठाउँदै आएको मुद्दामा केन्द्रित हुन जनताले म्यान्डेट दिएको पनि बताए । ‘हाम्रो पार्टी निर्णायक होइन । चुनावबाट काँग्रेस र एमालेलाई निर्णायक बनायो । हाम्रो पार्टी भनेको यो चुनाव पछि एउटा मुद्दामा राष्ट्रिय सवालमा हामीले जुन विगतदेखि उठाइरहेका छौं । त्यो उठाउने जनादेश आयो,’ यादवले भने । अहिलेको निर्वाचनमा केही महिना अगाडि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले धमाका दिएको, मधेस नेपाल नै होइन भन्ने जनमत पार्टीले म्यान्डेट पाएको र राजतन्त्र फर्काउने एजेन्डा लिएको राप्रपाले धेरै मत पाएको विषयमा अध्ययन हुनुपर्ने पनि बताए ।
‘घण्टी छाप आएको छ । चुनावभन्दा अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यत्रो धमाका दियो । जनमत पार्टीले मधेशै अलग बनाउँछु भनेर आएको पार्टी हो । उसको मूल स्लोगन नै मधेश इज नट नेपाल थियो । त्यसो भनेर आएको पार्टीले म्यान्डेट पायो,’ अहिले आएको जनमतलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा यादवले भने, ‘अहिलेको परिवर्तन होइन पहिलेकैमा जानुपर्छ भन्ने राप्रपा अगाडि आयो । यो अध्ययनको विषय हो । पुराना पार्टी र नेताहरुले गरेको कामबाट अलिक फस्टेट भएर नेगेटिभ भोटबाट आएको हो कि ?’
यादवले डेमोक्रेटिक रेभुलेसनले ल्याएको उपलब्धी र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनका लागि त्यसका पक्षपातीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘जसले परिवर्तन ल्याए ति क्रान्तिकारी शक्तिहरु पछि परेका छन् । जुन मक्सदका लागि ज्यान दिएका आन्दोलनहरु भए त्यो हाँसीमजाक जस्तो भएको छ, त्यो दुर्भाग्यपूर्ण भयो,’ यादवको भनाइ छ, ‘नेतृत्व गर्नेको कमजोरी भएको भएपनि यो मुलुकको क्यारेक्टर त्यस्तै खालको भएको छ । जुन पहिले पनि नेपालले भोेगेको हो र अहिले पनि त्यही देखिरहेको छ ।’


प्रकाशित मिति : २०७९ मंसिर १९, सोमबार

धेरै पढिएको

ताजा समाचार