राहदानी लिन सेवाग्राहीले घण्टौं लाइन बस्नुपर्नै बाध्यता अझै हटेको छैन् । अझै पनि त्रिपुरेश्वरस्थित राहादानी विभाग अगाडि राहदानी लिनेहरुको लामो लाइन कायमै छ ।
विभागले राहदानी लिने प्रक्रियामा केही सहजीकरण गरेको दावी गरे पनि सेवाग्राहीहरु भने सो कुरालाई अस्वीकार गर्छन् । जिल्लाबाट फारम आउन लामो समय कुर्नुपर्ने भएका कारण अनलाइन फारम भर्ने व्यवस्था गरेको विभागले बताएको थियो ।
उक्त व्यवस्थापछि पनि राहदानीक लिँदाको झन्झट घट्नुको सट्टा झन बढेको पीडितहरुको गुनासो छ । अनलाइन फारम भरे पनि बुझाउने मिति नै नपाउने र राजस्व बुझाउन तथा बायोमेट्रिकका लागि पनि लामो लाइन बस्नुपर्ने बाधयता कायमै रहेको काभ्रेबाट राहदानी बनाउन आएकी संगम तिमल्सिना गुनासो गर्छिन् ।
अनलाइनबाट फारम भर्ने र नभर्ने दुवै सेवाग्राहीले घण्टौं लाइन बसेर राहदानी लिँदा धेरै सास्ती भोग्नु परेको उनले बताइन् । तिमल्सिनाले अध्ययनका लागि क्यानडा जान राहदानी बनाउन आएको जानकारी दिँदै तर विभागमा आउँदा सोचे जस्तो सजिलो नरहेको बताइन् ।
राहदानीका लागि बिहान ५ बजेदेखि लाइन बसे पनि दिउसोसम्म काम बन्न नसकेको कृष्ण अधिकारीले बताए । उनी भन्छन्, ‘नयाँ सरकार गठनपछि केही सहज हुन्छ कि ? भन्ने लागेको थियो । उस्तै रहेछ ।’ वैदेशिक रोजगारमा जानको लागि दुई दिनमा राहदानी बनाएर फर्किने योजना बनाएर गुल्मीबाट आएका अधिकारी पाँच दिन भइसक्दा पनि काम नबनेको दुखेसो पोखे । उनले होटलमा दैनिक एक हजार छ सय रुपियाँ भाडा तिरेर बस्नु परेको पनि जानकारी दिए ।
राहदानी विभाग अगाडि व्यापार गर्ने अञ्जु तामाङले राहदानी बनाउनका लागि आधा रातमै आएर लाइन बस्नेहरुको संख्यामा अझै कमी नआएको बताइन् । उनले भनिन, ‘व्यापार गर्न बस्दा राहदानी विभागमा दैनिक तीन–चार हजारसम्म सेवाग्राही आउँछन् । कतिपयले हप्तौंसम्म कुर्नुपरेको गुनासो सुनाउँछन् । सहज छैन पासपोर्ट बनाउन ।’
सरकारले जिल्ला प्रशासन कार्यालयबाटै राहदानी लिन सकिने व्यवस्था गरे पनि त्यसका लागि महिनौं कुर्नुपर्ने बाध्यता भएकाले बढी दस्तुर बुझाएर भए पनि सेवाग्राहीहरु काठमाडौंमै आएर राहदानी बनाउन बाध्य छन् ।