नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म केही निर्णय नगर्ने बताउनु भएको छ ।
मंगलबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो ब्रिफिङ गरेको प्रवक्ता समेत रहनु भएका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकपछि जानकारी दिनु भयो ।
महराले भन्नुभयो, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’
रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उहाँको सांसद पद खारेज गरिदिएको थियो । त्यसपछि उहाँ उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त हुनु भएको थियो । हाल गृहमन्त्रालय प्रधानमन्त्रीले सम्हाल्नुभएको छ ।
प्रवक्ता महराले राष्ट्रपतिका सन्दर्भमा भएको छलफलमा सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयासमा लाग्नुपर्ने धारणा आएको बताउनु भयो ।
‘राष्ट्रपतिका सवालमा सकेसम्म एमालेसहितको राष्ट्रिय सहमति हुनुपर्छ भन्ने धारणा आएको छ’, महराले भन्नुभयो, ‘राष्ट्रपति को हुन्छ भन्नेमा अझै समय बाँकी रहेकाले छलफल गर्दै जाने उहाँले बताउनु भयो ।
मंगलबारको बैठकमा हिजो बोल्न बाँकी स्थायी समिति सदस्यहरूले धारणा राखेको उहाँले बताउनु भयो ।
निवर्तमान उपप्रधानसहित गृहमन्त्री रवि लामिछानेले अमेरिकी नागरिकता र राहदानी हुँदा बखत नै खारेज भएको नेपाली नागरिकता प्रमाणपत्रबाट नेपाली राहदानी लिएको विषय विवादमा रहेकाले उहाँलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन आनकानी गर्नुभएको हो ।
पदाधिकारी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई तत्काल कसैलाई गृहमन्त्री नबनाउन नेताहरुले सुझाव पनि दिएका छन् ।